गुलरियामा पाँच दिने योग शिविर संचालन

फागुन २३, २०७७

फरकसमाचार


विष्णु प्रसाद अधिकारी
बर्दिया, फागुन २३ / गरौं योग, रहौं स्वास्थ्य भन्ने मुल नाराका साथ गुलरियाको बालापुरमा योग शिविर आज आइतबारबाट शुरु भएको छ । पतंजलि योग पिठ नेपालको आयोजना तथा गुलरिया नगरपालिका ५ नं. वडा कार्यालयको सहयोगमा गुलरिया नगरपालिका–५ स्थित शान्ति आधारभूत विद्यालय बालापुरको प्राङ्गणमा सुरु भएको हो ।

योग शिविरको उद्घाटनमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले रोग लागेर औषधि सेवन गर्नु भन्दा योगका माध्यमबाट रोग लाग्न नदिन नगरबासीहरुमा आग्रह गरेका छन् । यादवले धेरै रोगहरु योगका माध्यमबाट निको भएको हुँदा नियमित व्यायम तथा योग गरी स्वस्थ रहन धेरै सहज हुने बताएका छन् ।

नगर प्रमुख यादवले योग अहिले नेपालमा मात्र नभएर विश्वलाई नै स्वस्थ रहन मदत गरेकोले योगको प्रचार प्रसार बढेको कुरामा जोड दिएका छन् । यादवले हामीले दैनिक रुपमा प्रयोग गरिएको बस्तुमा अखाद्य बस्तुको मिलावट रहेकाले मानव स्वास्थ्यलाई योग गरि स्वस्थ रहन आग्रह गरेका छन् । योग शिविरका मुख्य प्रशिक्षक लुम्बिनी प्रदेशका युवा प्रभारी दुर्गा प्रसाद चौधरीले मानवको शरिरमा जब अक्सिजनको कमि हुन्छ तब विभिन्न किमिमका रोगहरुले हाम्रो शरिरमा आक्रमण गर्ने बताएका छन् ।

प्रशिक्षक चौधरीले विहानको समयमा दिव्य शक्ति, दिव्य उर्जा र स्वच्छ हावा बहने हुदा विहान उठेर खुला आकाश मुनि व्यायाम योग गरि निरोगी बन्न सकिने कुरा बताएका छन् । चौधरीले नियमित रुपमा योग गरेमा प्रेसर, सुगर, मुटुरोग, पेट सम्बन्धि रोगहरुबाट बच्न सकिने कुरामा जोड दिएका थिए । तनावले नै रोग लाग्नुको मुख्य कारण भएकाले योगका माध्यमबाट तनाव कम गर्न सहयोग गर्ने भएकाले योगको महत्व बढेको सह–प्रशिक्षक धर्मराज पोखरेलले बताएका छन् ।

पतंजली योगपिठले स्वस्थ समाजको निर्माणका लागि निःशुल्क योग शिविर संचालन गरिएको गुलरिया नगरपालिका – ५ का वडा सदस्य युवराज श्रेष्ठले बताएका छन् । योग शिविर फागनु २७ गते सम्म संचालन हुने आयोजक संस्था पतंजली योगपिठले जानकारी दिएको छ ।