साथी बन्न सजिलो, टिक्न गाह्रो

जेठ ०१, २०७८

फरकसमाचार


पूर्वीय दर्शनमा साथीभन्दा पनि मित्र शब्दको प्रयोग बढी पाइन्छ। मित्रको निकै चर्चा र प्रसंशा गरेका थुप्रै कथा सुन्न–पढ्न पाइन्छ। कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको मित्रता लगायत यस्ता कैयौँ उदाहरण छन्, जहाँ मित्रताका लागि मानिसले हाँसी–हाँसी आफ्नो ज्यानको बाजी समेत थापेको सुनिन्छ। त्यति धेरै स्निग्ध, पवित्र र आदर्श मित्रताको कल्पना र खोजी अहिलेको ‘चरम स्वार्थी’ दुनियाँमा गर्‍यो भने ठूलो मूर्खताबाहेक केही नहोला। धेरै नजिकको रगतकै नातामा पनि पाउन मुस्किल आत्मीयताको खोजी साथीको सम्बन्धमा गर्न थाल्यो भने त्यो एउटा अव्यावहारिक कार्य हुन जान्छ होला। तर कमसे कम जे–जस्तो परिवेश, उपलब्धता र सम्भावनाको विद्यमानता भए पनि केही कुराप्रति चनाखो वा सचेत हुन सक्यो भने त्यो सबैका लागि हितकर नै हुन सक्छ।

आजभोलि ‘मित्र’ शब्दको प्रयोग निकै घटेर ‘साथी’ शब्दको प्रयोग बढ्दै गएको देखिन्छ। अझै साथी शब्दलाई पनि अंग्रेजी भाषाको ‘फ्रेन्ड’ शब्दले छिटोछिटो विस्थापन गर्दै लगेको देखिन्छ। ‘मित्रता’ शब्दको प्रयोग लोप हुँदै गएर ‘फ्रेन्डसिप’ शब्दको व्यापक प्रयोग हुने क्रमले तीव्रता पाएको महसुस हुन्छ। जसरी शब्दमा परिवर्तन हुँदै गएको छ, त्यसरी नै यो सम्बन्धको गुणस्तरमा पनि व्यापक परिवर्तन हुँदै गएको आभास हुन्छ।

‘फ्रेन्ड’ शब्दको अन्तिम तीनवटा अक्षर मात्र हेर्ने हो भने ‘इएनडी’ (इन्ड) अर्थात् ‘समाप्त हुनु’ वा ‘टुंगिनु’ आदि अर्थ लाग्छ। यो अंग्रेजी शब्द आफैँले आफ्नो अन्त्य पनि सँगै बोकेको देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा अहिलेको जमानामा ‘फ्रेन्डसिप’ निकै कमजोर, नक्कली र क्षणभरमै टुंगिन सक्ने खालको प्रतीत हुन्छ। सुरु हुन पनि बेर नलाग्ने र अन्त्य हुन पनि क्षणभर नलाग्ने यस्तो सम्बन्धलाई अर्थात् अहिलेको जमानाको साथीहरू (कोहि कतै अपवादलाई छोडेर) लाई कत्तिको महत्व दिने, कति समय दिने र कति विश्वास गर्ने भन्ने पनि आजको दुनियाँमा निकै सतर्क हुनुपर्ने एउटा विषय हुन सक्छ। अर्को शब्दमा भन्नुपर्दा साथी बन्न र भन्न निकै सजिलो देखिए पनि साँचो अर्थमा साथी बनिरहन र यो सम्बन्धको पवित्रता कायम राखिरहन भने निकै नै चुनौतीपूर्ण देखिन्छ।

साथीको नाता जोडिने विभिन्न माध्यम हुन सक्छन्। सजिलोका लागि वास्तविक दुनियाँ र इन्टरनेटको माध्यमलाई साथीको नाता जोडिने दुई प्रमुख बाटो मान्न सकिन्छ। सुरुमा वास्तविक माध्यमबारे हेरौँ। हाम्रो नेपाली समाजमा निकै छिटो (भेट हुनेबित्तिकै) बोलिने एउटा वाक्य हो, ‘परिचय गरौँ न त।’ गाडीको सिटमा सँगै बसेको कुनै मानिस होस् वा अरू कुनै प्रसंगमा भेट भएको मानिस होस्, निकै छिटो यो वाक्यको प्रयोग हुन जान्छ। ५–१० मिनेटकै भेटमा पनि ‘नाम’बाट सुरु गरेर ठेगाना, काम, घरपरिवार, बुबाबाजे लगायत सबैको नालीबेलीको पोको फुकाइन्छ।

‘साथी’को नाता हरेक मानिसको जीवनमा निकै अपरिहार्य र महत्व हुने भएकाले यो जोड्नुअघि, जोडिसकेपछि तोड्नअघि पर्याप्त सचेतता अपनाउनुपर्छ। यसो भयो भने कसैलाई साथी बनाएर पछुताउनुपर्दैन।

अक्सर त्यसको लगत्तैपछि सुरु हुने दोस्रो अध्याय भनेको ‘स्व चर्चा’ हो। यस खण्डमा प्रायःले आफ्नो अभिमानको पोको फुकाउने गरेको देखिन्छ। म यस्तो–उस्तो भन्दै आफूलाई निकै ठूलो देखाउने कसरत सुरु हुन्छ। हामीले बोलिरहेको कुरालाई अर्को मानिसले कसरी लिइरहेको छ, वा आफ्ना कुरा सान्दर्भिक छन् कि छैनन् भन्नेमा प्रायः हामी बेखर हुन्छौँ। तेस्रो अध्याय अरूको आलोचना वा राजनीतिको विषयमा केन्द्रित हुन सक्छ। अझ कहिलेकाहीँ त पहिलो भेट र परिचय नै वादविवाद र द्वन्द्वको कारण समेत बन्न सक्ने सम्भावना रहन्छ। त्यसको केहीबेरपछि नै हामी एक–अर्काको मूल्यांकन सकेर आफ्नो मनको कापीमा फैसला वा निर्णय उतारिसक्छौँ।

अर्को मानिसका बारेमा निकै थोरै जानकारीका आधारमा हामी त्यो मानिसलाई या त ‘राम्रो मानिस’ या ‘नराम्रो वा घमण्डी मानिस’ आदि सोचेर उसको एकथरी चित्र आफ्नो मस्तिष्कमा कोरिसक्छौँ। उसैले व्यक्त गरेका केही शब्दको भरमा उसको वास्तविक व्यवहारको परख नै नगरीकन, के यति छिटै र सजिलै अर्को मानिसलाई चिन्न वा बुझ्न सकिन्छ होला ? अर्थात् हामीले परिचित सम्झेको त्यो मानिसको सबै पाटो त्यही एउटा भेटले प्रस्ट पार्न सक्छ होला ? अब माथिको अध्यायमा चर्चा गरिएका वास्तविक दुनियाँको भेटघाट र परिचय अर्थात् चिनजानको कुरालाई एकछिन थाती राखेर ‘भर्चुअल वल्र्ड’ अर्थात् सामाजिक सञ्जाल (सामाजिकभन्दा पनि अलि धेरै असामाजिक देखिन थालेका) को भेटघाट वा ‘फ्रेन्डसिप’को पाटोतर्फ विचार गरौँ।

विभिन्न सामाजिक सञ्जालमध्ये ‘फेसबुक’को लोकप्रियता नेपाली समाजमा बढेर गएको देखिन्छ। निकै ठूला मानिएका र भनिएका व्यक्तिदेखि विद्यालयमा पढिरहेका बालबालिका हुन् वा हाम्रो समाजका हरेक तह र तप्काका मानिस, प्रायः सबैजसो क्षेत्रका मानिस यसमा निकै नै व्यस्त हुन थालेको आभास हुन्छ। नजिक वा निकै टाढाको जुनसुकै भूगोलमा रहेका मानिसबीच क्षणभरमै चिनजान र साथीको नाता जोडिदिने यो अर्को बलियो माध्यम बन्दै गएको छ। कहिल्यै नदेखेका मानिस होऊन्, वा प्रत्यक्ष देखभेट भएका मानिस, उनीहरूबाट जुनसुकै बेला ‘फ्रेन्ड रिक्वेस्ट’ आउनु सामान्य भइसक्यो। एकातिर फेसबुकमा नयाँ खाता खोलेका कतिपय मानिसलाई छिटोछिटो धेरैको प्रस्ताव आएर साथीहरूको लामो सूची बनाउन रहर लागेको परिस्थति हुन सक्छ।

अर्कोतिर, कतिपय मानिसलाई बेला न कुबेला ‘म्यासेज’ गरेर हैरान पार्ने मानिसबाट कसरी छुट्कारा पाउने भन्ने तनाव पनि हुन सक्छ। एकथरी मानिस आफूले फेसबुकमा गरेको पोस्टमा आएको ‘लाइक’ र ‘कमेन्ट’ हेर्दै आफ्नै नजरमा आफ्नो मूल्यवृद्धिको अभियानमा व्यस्त र मख्ख परेका हुन् सक्छन्। जेहोस्, नयाँनयाँ मानिसलाई साथीको सूचीमा थपिदिने सशक्त माध्यमका रूपमा सामाजिक सञ्जालले काम गरिरहेको देखिन्छ। हरेक मानिसले यसलाई बुझ्ने तरिका आ–आफ्नै भए पनि यो माध्यमबाट जोडिने ‘साथी’को नाता कति बलियो, भरपर्दो र विश्वसनीय हुन् सक्ला भन्ने प्रश्न भने विचारणीय हुन सक्छ।

इन्टरनेटको बढ्दो उपलब्धता र विस्तारसँगै यो अभ्यास अझै बढ्दै जाने देखिन्छ। हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ भनेझैँ यसको पनि दुवै पाटो हुने नै भयो। मुख्यतः यो मानिससँग जोडिने साधन हो र यसले कस्तो प्रतिफल दिन्छ भन्ने कुरा यसको उपयोगकर्तामा भर पर्छ। जसरी हामी बजारबाट चक्कु किन्दा तरकारी काट्नका लागि किन्छौँ, तर कहिले हाम्रै असावधानीका कारण त्यो चक्कुले हात पनि काटिदिन सक्छ।

५–१० मिनेटकै भेटमा पनि ‘नाम’बाट सुरु गरेर ठेगाना, काम, घरपरिवार, बुबाबाजे लगायत सबैको नालीबेलीको पोको फुकाइन्छ। अक्सर त्यसको लगत्तैपछि सुरु हुने दोस्रो अध्याय भनेको ‘स्व चर्चा’ हो। यस खण्डमा प्रायःले आफ्नो अभिमानको पोको फुकाउने गरेको देखिन्छ। म यस्तो–उस्तो भन्दै आफूलाई निकै ठूलो देखाउने कसरत सुरु हुन्छ।

दोष कसलाई दिने, चक्कुलाई कि हातलाई ? कि आफ्नो असावधानीलाई ? यस्तै, आजभोलिको सामाजिक सञ्जालको गुण वा दोषको जिम्मेवारी कसलाई दिने, आफूलाई कि अरूलाई ? सञ्जालका रूपमा देखिएका यी साधन आफ्ना लागि ‘जाल’, ‘काल’ वा ‘जञ्जाल’ पनि बन्न सक्छन् भन्नेमा हामी आफू सचेत हुनुपर्छ। अरूबाट पर्याप्त इमानदारी, समझदारी र वफादारी खोज्दै आफू भने पानीमाथिको ओभानो बन्नु उपयुक्त हुँदैन। यी र यस्तै तमाम प्रश्नको जवाफ खोज्न हामी जतिजति ढिलो गर्छौं, त्यति–त्यति नै यी सामाजिक सञ्जालले ‘जाल’को रूप लिन बेर लाग्दैन।

वास्तविक वा अवास्तविक (प्रविधिको माध्यमबाट) जुनसुकै तरिकाले साथीको नाता जोडिन सक्छ। माध्यम जे–जस्तो भए पनि साथीका सम्बन्धमा हरेकले विचार गर्नैपर्ने हुन्छ। साथी किन बनाउने, कसरी बनाउने, कति बनाउने, कस्तो बनाउने जस्ता प्रश्नका साथै आजको जमानामा साथीको महत्वबारे पनि सोच्नु सान्दर्भिक हुन्छ। सामान्यतया कुनै मानिसले हामीलाई साथीको प्रस्ताव किन गर्छ त ? यस प्रश्नको सोझो र अलि साँघुरो जवाफ हुन सक्छ, आफ्नो निहित स्वार्थ परिपूर्तिका लागि। के कुनै पनि स्वार्थ नभएको मानिस भेटिनु सम्भव छ भनी प्रश्न गर्ने हो भने उत्तरले प्रायः असम्भवतर्फ संकेत गर्छ। सबै स्वार्थी मात्र छन् भने, के कसैलाई पनि साथीका रूपमा स्वीकार नगरी सधैँ एक्लै बसिरहन सकिन्छ ? अहँ, यो कुरा पनि अव्यावहारिक र असम्भव नै हुन्छ। त्यसो भए के गर्ने ? अर्थात् यो साथीको पाटो र बाटोलाई कसरी व्यवस्थित गर्ने ?

साथी वा आफन्त, इष्टमित्र जोसुकैसँगको सम्बन्ध व्यवस्थापनका लागि सबैभन्दा मुख्य कुरा आफू र अर्को पक्षलाई राम्रोसँग चिन्ने वा बुझ्ने नै हो। यसमा हामीले बुझ्नुपर्ने धेरै पाटा हुन् सक्छन्। जस्तो कि आफ्नो र अर्काको रुचि, आनीबानी, मूल्य–मान्यता, उद्देश्य, विश्वास, धारणा, पृष्ठभूमि (पारिवारिक, सांस्कृतिक, शैक्षिक आदि) लगायत थुप्रै कुराको जानकारी आवश्यक पर्न सक्छ। सबै कुरा पूर्णरूपमा जान्न र सम्पूर्ण रूपमा प्रायः कसैलाई चिन्न लगभग असम्भवजस्तै हुन सक्ने भए पनि कमसे कम सचेततापूर्वक जोडिने साथीको नाता दिगो हुन सक्छ।

आफूले अरू कसैलाई साथीका रूपमा प्रस्ताव राख्नुअघि होस्, वा अरूले राखेको प्रस्ताव स्वीकार गर्नुअघि होस्, कम्तीमा एउटा प्रश्न आफैँसँग सोध्नु उपयोगी हुन सक्छ। त्यो प्रश्न हो, ‘किन’। अर्थात् तपाईं त्यो मानिसलाई किन साथी बनाउन प्रेरित हुनुहुन्छ ? अर्कोतिर, त्यो मानिसले तपाईंसँग साथीको नाता जोड्न चाहनुको पछाडि के–कस्ता सम्भावित कारण हुन सक्छन् ? समग्रमा भन्नुपर्दा ‘साथी’को नाता हरेक मानिसको जीवनमा निकै अपरिहार्य र महŒवपूर्ण हुने भएकाले यो जोड्नुअघि, जोडिसकेपछि तोड्नअघि पर्याप्त सचेतता अपनाउनुपर्छ। यसो भयो भने कसैलाई साथी बनाएर पछुताउनुपर्दैन। साभार नागरिक दैनिक