बुबालाई लाइभ शो देखाउने सपना पूरा गर्न सकिनँः आदर्श मिश्रा
बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

जेष्ठ १३ / ‘मानिसहरुले मलाई ठूलै स्ट्यान्ड अफ कमेडियन’ मान्दा रहेछन् । तर, प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरेर बाबालाई अगाडि राखेर एउटा लाइभ शो देखाउने मन थियो । म यो कुरामा असफल भएँ ।’

बुबा विनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमा व्यक्त गरेको भनाइ हो । अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा समय हुन नपाउँदा निधन भएको भन्दै आदर्शले बुबालाई बचाउन नसकेको बताएका छन् ।

आफ्नै युटुब च्यानलमा एक भिडियोमार्फत आदर्शले भनेका छन्–‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ । किनकी, २ हप्ता अगाडि मात्र मेरो बाबालाई तपाइको डायलसिस यहाँ हुन सक्दैन भनेर नेशनल मेडिकल कलेजले हामीलाई निकालिदियो । सरकारबाट एउटा बिरामीको डायलसिस गरेको ३५ सय लिने अनि बिरामीलाई आवश्यक पर्दा धपाइदिने ? यो कस्तो नियम हो ।’

आदर्शले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् । उनले भनेका छन्–‘बुबा मंगलबार बिहान भरतपुर अस्पतालमा बित्नुभयो । मैले मेरी आमालाई भन्न सकिनँ । आमा अझै पनि डिप्रेसनको औषधी खाइरहनुभएको छ । मैले आमालाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरेको छु, बुबालाई लिएर जानुपर्छ भनेर झुटो बोले । अस्पताल लैजाने भनेर मैले बुबाको शवलाई दाहसंकार गर्न लिएर गएँ ।’

आदर्शले आफूलाई धेरैले आफ्नो नामबाट बुबा चिनिएको भन्दै यसमा गर्व गर्नुपर्ने बताएपनि बुबाको नामबाट आफू चिनिएको बताएका छन् । उनले भनेका छन्–‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन् । मेरो बुबाले चलाएको स्कुल अहिले विजोग छ । उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो । केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर । तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं । भारतको विरोध गरेर चुनाव जित्यौं । तिमी राम्रो नेता होइन केपी ओली ।’

आदर्शले आफ्ना बाबुको मृत्युको दोष नेशनल मेडिकल कलेज र नारायणी अस्पताललाई लगाएका छन् । काजकिरिया सकिएपछि आफू त्यसविरुद्ध लड्ने उनले बताएका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर