विपद् प्रतिकार्ययोजना पारित, सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय
बुधबार, असार ०२, २०७८ मा प्रकाशित

काठमाडौं, असार २ । सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

 

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

 

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए।

‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ,’ पोखरेलले भने ।

 

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिसमा काम गर्दै आएको उदाहरण भएको बताए।

 

यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र त्यसले समुदायमा क्षति पुर्‍याउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय