रातभर राप्ती नदीको टापुमा जाग्राम
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

लमही नगरपालिका–७ हस्नापुरका मन्सराम चौधरी मंगलबार बिहान १० बजे १८ वटा भैंसी चराउन राप्ती नदीको टापुमा पुगे। उनी राप्तीमा बढिरहेको भेल देखेर डराएका त थिए तर फर्किन चाहेनन्। राप्ती नदी उक्त घाँसे टापुलाई बीचमा पारेर दुईतिरबाट बग्छ। उनी जाँदा नदीको बहाव सानो थियो। तर अपराह्न ३ बजेतिर घरतर्फ फर्कन लाग्दा राप्तीको वारितिरको बहाव तर्नै नसकिने भइसकेको थियो। ‘दिउँसो ३ बजेतिर आउँदा वारितिरकोे बहाव तर्नै नसकिने भइसकेको थियो,’ मान्सरामले भने, ‘भैंसीले दुईपटकसम्म राप्तीको बहाव तर्न प्रयास गरे तर हच्किए।’

मन्सरामसँगै लमही नगरपालिका र राजपुर गाउँपालिकाका भैंसी चराउन गएका अन्य तीनजना पनि त्यही टापुमा फसे। मन्सरामसँगै लमही नगरपालिका–२ का सावित्रा यादव र राधे यादव तथा राजपुर गाउँपालिका–३ का गणेश यादव पनि टापुमै भैँसी चराउन पुगेका थिए। उनीहरूले राप्तीको बहाव कम होला भन्ने आशा गरिरहे तर उनीहरूले सोचेजस्तो भएन।

‘पानी घट्ला र घर जाउँला भनेर कुरिरह्यौं,’ मन्सरामले भने, ‘तर पानीको सतह झन्झन् बढिरह्यो।’

झमक्क साँझ पर्दा पनि राप्ती नदी तर्न नसकिने अवस्था भएपछि उनीहरूले आफूहरू टापुमा अलपत्र परेको परिवार, छिमेकमा जानकारी गराए। उनीहरू फसेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयले उद्धारको प्रयास थाल्यो। तर रात परिसकेकाले डुंगाबाट उनीहरूलाई उद्धार गर्न असहज भयो। ‘मंगलबार बेलुका चारजना राप्तीको टापुमा अलपत्र परेको भन्न्ने जानकारी पायौं,’ प्रजिअ दीर्घनारायण पौडेलले भने, ‘तर रात परिसकेकाले डुंगाबाट उद्धार गर्न सम्भव भएन।’

रातभर पानी रोकिएन, बाढी पनि घटेन। मान्सरामसहित चारजना टापुमै अल्झिए। ‘भैँसी चराउन गएका बेला टापुमा सानो टहराजस्तो बनाएका थियौँ,’ मन्सरामले भने, ‘रातभर त्यही टहरामा बस्यौँ।’ राप्तीको भेल बढेर टहरातिरै नजिकइरहेको थियो। उनीहरू बाढीले बगाउनेमा ढुक्कजस्तै बनिसकेका थिए। सावित्रा डरले रातभर रोइरहिन्। ‘अब बाँचिन्छ जस्तो सोच्न छाडिसकेको थिएँ,’मन्सरामले भने, ‘रातभर भगवान् पुकार्दै बस्यौं, भोकनिद्रा त त्यसै हराइसकेको थियो।’ उज्यालो भएसँगै बाँच्ने आशा बढेर आएको उनले बताए।

टापुमा फसेको १७ घन्टापछि बिहान ७ बजेतिर उनीहरूको उद्धारका लागि सुरक्षाकर्मीको टोली राप्ती तीरमा पुग्यो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बुधबार बिहान डुंगामार्फत उनीहरूको उद्धार गरे। ‘बुधबार बिहान उद्धारपछि नयाँ जीवन पाएजस्तो अनुभूति भयो,’ मन्सरामले भने, ‘फर्केर आउने आशा राप्ती टापुमै मरिसकेको थियो।’ राप्तीको बहाव नघटेका कारण टापुमै फसेका तीन दर्जनजति भैंसी अझै त्यही छन्।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर