गण्डकी प्रदेश: मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्।

यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार ४ गते विश्वासको मत लिने कार्यसूची तय गरेको छ। प्रदेशसभा सचिव हरिप्रसाद पोखरेलले असार ४ गते शुक्रबार पूर्वाह्न ११ बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको जानकारी दिए। ‘मुख्यमन्त्रीले मागेकै दिन विश्वासको मत लिने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले गरेको छ,’ उनले भने।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन्। मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन्। अब उनले विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने तयारी गरेको स्रोतले बताएको छ। सरकारका प्रवक्ता तथा विनाविभागीय कुमार खड्काले भने, ‘अब विश्वासको मत लिएपछि मात्र विश्वासको मत लिने तयारी छ।’

विश्वासको मत नलिई कार्य विभाजन गर्दा विवाद बढ्नसक्ने भएकाले मुख्यमन्त्रीले कार्य विभाजनअगाडि नै विश्वासको मत लिन लागेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ। अहिले नै कार्य विभाजन हुँदा अन्तर पार्टी र पार्टीभित्र असन्तुष्टि देखिन सक्छ। जसका कारण विश्वासको मत लिँदा त्यो रिफ्लेक्ट हुनसक्ने भएकाले त्यसअघि नै विश्वासको मत लिन मुख्यमन्त्रीले चाहनु भएको हो,’ उनले भने।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राजपाका २, जनमोर्चाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको मुख्यमन्त्री पोखरेललाई समर्थन छ। विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। जसका कारण सत्तापक्षलाई बहुमत पुर्‍याउन केही सहज हुने पक्का छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर