अष्ट्रेलियाको लन्चेस्टनमा नेपाली अभिभावकहरुको करई
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

असार ३ / यही आइतबार करिब ३० जनाको संख्यामा नेपाली अभिभावकहरु अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनको मोब्रेको एउटा सानो पार्कमा गफिँदै गरेको भेटिए । फरक पोशाक र फरक भाषा बोलेका मानिसहरुको समूह देखेर होला, वरिपरिका ‘गोरे’हरु पनि अचम्म मानेर हेरिरहेका थिए ।

त्यो दृश्य देखेर पंक्तिकारलाई पनि उत्सुकता लाग्यो र उत्सुकता मेट्न उनीहरुकै नजिक गएर सोध्यो, ‘के को तयारी हो यो अनि कहाँ जान …?’ प्रश्न सकिन नपाउँदै उताबाट सामूहिक स्वरमा जवाफ आयो, ‘करई खान जान लागेको ।’ करई अर्थात वनभोज ।

पछि कुरा गर्दै जाँदा थाहा भयो, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले लन्चेस्टन घुम्न तथा यहाँ आफन्त भेट्न आएका नेपाली अभिभावकहरुबीच एक आपसमा परिचय गराउने र परिचितहरुमाझ घनिष्टता बढाउने उद्देश्यले भ्रमणसहितको वनभोजको आयोजना गरेको रहेछ ।

‘लन्चेस्टनको नेपाली समुदायमा भ्रमणमा आएका नेपाली अभिभावकप्रति लक्षित गरेर भ्रमण तथा वनभोजको आयोजना गरेका हौं,’ नेपाली सोसाइटी अफ नर्दन ताज्मानियाका उपाध्यक्ष एवम् भ्रमण कार्यक्रमलाई व्यवस्थापन गर्ने जिम्मा पाएका हृदय दाहालले भने।

हुन त अष्ट्रेलियाका अन्य राज्यका नेपाली समुदायले त्यहाँ भएका र घुम्न आएका अभिभावकहरुलाई विभिन्न कार्यक्रमहरुको आयोजना गरी दु:ख सुखको कुरा गर्ने बाटो बनाइदिइरहेको छ ।

तास्मानियाको लन्चेस्टनको हकमा भने अभिभावकहरुलाई नै लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम पहिलो हो ।

अष्ट्रेलियाकै ग्रामीण क्षेत्र मानिने तास्मानियामा पनि पछिल्लो समयमा यहाँका अभिभावकहरुलाई लक्षित गरी यस्ता कार्यक्रम आयोजना हुन थालेपछि अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा नेपालीहरुको उपस्थिति बाक्लिदै गएको स्पष्ट हुन्छ ।

‘पहिलो पटक यस्तो कार्यक्रम गर्दा विभिन्न कारणहरुले गर्दा धेरै अभिभावकहरु अझै छुट्नुभएको छ,’ असन्तोष भावमा दाहालले भने, ‘आगामी कार्यक्रमहरुमा सबैलाई समेट्ने प्रयास गर्नेछौं ।’

उनका अनुसार, लन्चेस्टनको मोब्रेबाट सुरु भएको यात्रा व्युटी प्वाइन्टस हुँदै होली बैंक फरेस्ट पुगेर सकिएको थियो । उक्त अवसरमा नेपाली अभिभावकहरु विदेशी भूमिमा पनि नेपालकै जस्तो परिवेशमा आफ्नै उमेर समूहका साथीभाइसँग घुम्न र बनभोज जान पाउँदा एकदमै खुशी लागेको अनुभव व्यक्त गरेका थिए ।

बिहान १० बजेबाट सुरु भएको भ्रमण कार्यक्रममा विभिन्न स्थानहरुमा घुमघाम गर्दै साँझ फर्किएको थियो । चिसो मौसममा जंगलमा गएर आगो ताप्दै, गीत गाउँदै गीत गाउँदै नाच्दै गर्दा अभिभावहरु खुशी देखिन्थे।

‘बाहिर चउरमा बसेर सेलरोटी खाइयो, आगोको भूंग्रोमा मकै पोलेर खाइयो, नेपालमै भएर साथीभाइसँग गएर करई खाएजस्तो भयो,’ अभिभावक नानीमैया खनालले भनिन् । उनी छोरा बुहारीले बोलाएर गतबर्ष नेपालबाट लन्चेस्टन आएकी हुन्।

‘सजिलो हिसाबले हेर्दा नेपालबाट यहाँ आउने अभिभावकहरुलाई सजिलो छ, घुमेका छन् भन्ने देखिन्छ,’ लन्चेस्टनका एक सामाजिक अगुवाले, ‘घर चलाउने सबैभन्दा बढी त जिम्मेवारी उहाँहरुको हुन्छ ।’

‘बालबच्चा हेर्नुपर्छ, छोरा बुहारी छोरी ज्वाई काममा हुन्छन् थाकेर आउँछन्, खाना बनाएर खुवाउनुपर्छ,’ उनले भने, ‘परिवार चलाउन उहाँहरुको जत्तिको भूमिका अरुको धेरै कम हुन्छ ।अभिभावकहरुलाई लक्षित गरी यस्ता कार्यक्रम गरे उहाँहरुमा एउटा रिफ्रेसमेन्ट हुन्छ ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर