ब्राजिली मार्सेलो रियल म्याड्रिडको कप्तान!
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

एजेन्सी, असार ३ / सर्वाधिक सफल कप्तान सेन्टरब्याक सर्जियो रामोसले क्लब छाड्ने निर्णय गरेसँगै ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो ७७ वर्षपछि रियल म्याड्रिडको पहिलो विदेशी कप्तान बन्ने भएका छन् ।

सन् १९४४ मा मेक्सिकोका जोस रमन साउटो रियलको इतिहासमा दोस्रो विदेशी कप्तान बनेपछि त्यसयता स्पेनकै खेलाडीहरुले रियलको कप्तानी सम्हाल्दै आएका थिए । त्यसअघि सन् १९०४ मा ग्वाटेमालाका फेडरिको रिभुइल्टो रियलको पहिलो विदेशी कप्तान बनेका थिए ।

रामोसले रियलमा १६ वर्षे करियरबाट बिदा लिने निर्णय गरेसँगै यसअघि उपकप्तान रहेका मार्सेलोलाई रियलको कप्तानी गर्ने जिम्मेवारी काँधमा आएको हो । मार्सेलो रियलको २८औं कप्तान हुनेछन् । मार्सेलोले रियलमा १५ सिजन बिताइसकेका छन् । सिनियरको आधारमा उनी रामोसपछि उपकप्तान बनेका थिए ।

रियलमा सिनियर र लामो समय क्लबमा समय ब्यतित गरेकाहरुलाई कप्तानी आर्मब्यान्ड प्रदान गर्ने गरिन्छ । यस विषयमा आलोचना हुदा जोसे मौरिन्होले इकर कासियासलाई कप्तानी दिन आनाकाी गरेका थिए । जबकी क्लबको निर्णय र कासियास आफै पनि कप्तानी गर्न तयार थिए । कासियासले क्लब छाडेपछि रामोसले कप्तानीको जिम्मेवारी पाएका थिए ।

अब रियलमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा उपकप्तान रहनेछन् । रियलमा मार्सेलोको लय र प्रशिक्षकको नजरमा पर्न नसकेको अवस्थामा बेन्जेमाले नै रियलको कप्तानी बढी गर्ने सम्भावना छ । अघिल्लो सिजन रामोसले चोटका कारण मैदान बाहिर रहँदा र मार्सेलो पहिलो रोजाईमा नपरेको खेलमा बेन्जेमाले टोलीको कप्तानी गरेका थिए ।

सन् २०१५ मा कासियासले क्लब छाडेपछि रामोसको कप्तानीमा रियलले विभिन्न १२ उपाधि जितेको थियो । जसमा लगतार तीन सिजन (२०१६, १७ र १८) मा च्याम्पियन्स लिग समावेश छ । त्यसअघि कासियासले पाँच सिजन कप्तानी गर्दा रियलले सात उपाधि तथा राहुलले सात सिजन कप्तानी गर्दा चार उपाधि जितेको थियो ।

रामोस २००५ मा स्पेनिस क्लब सेभियाबाट रियलमा अनुबन्धित भएका थिए । मार्सेलो २००६–०७ को सिजनमा ब्राजिली क्लब फ्लुमिनेन्सबाट रियल पुगेका थिए । ३३ वर्षीय मार्सेलोले रियलबाट ५२८ खेलमा ३८ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय