मुख्यमन्त्री पोखरेल मनाङबाट पोखरा फर्किए, आजै विश्वासको मत लिँदै
शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित

पोखरा, असार ४ । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् ।

शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत सामाग्रीसहित स्थलगत निरीक्षणका लागि पुगेका मुख्यन्त्री पोखरेल हेलिकप्टर उड्न नसक्दा बिहीबार उतै रोकिएका थिए । मुख्यमन्त्री चढेर मनाङ पुगेको सेनाको हेलिकप्टर उद्धारमा लागि मनाङमै रोकिएपछि मुख्यमन्त्री अर्को हेलिकप्टर मगाएर फर्किने योजनामा थिए । पोखराबाट गएको हेलिकप्टर मौसमका कारण ल्याण्ड गर्न नसकी बिहीबार पोखरा नै फर्किएको थियो ।

मौसम खुलेपछि शुक्रबार बिहान नेपाली सेनाकै हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल पोखरा फर्किएका हुन् । चाउचाउ, चिउरा र इन्धन बोकेर मनाङ पुगेका मुख्यमन्त्री पोखरेलले स्थतगत निरीक्षण, स्थानीय प्रशासनसँग छलफल गरेर फर्किएको बताए ।

४ दिनदेखि परेको पानीका कारण आएको बाढी, पहिरोले मनाङमा १ हजार बढी विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको छ ।

मुख्यमन्त्री पोखरेल पोखरा फर्किएपछि आजै उनले गण्डकी प्रदेश सभामा विश्वासको मत लिँदै छन् । आज विश्वासको मत लिने कार्यसूची तयार भएर पनि मुख्यमन्त्री पोखरेल  मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि छलफल भएको थियो । तर, मौसम खुलेर पोखरा फर्किएपछि आजै विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।

विपक्षी ४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आजै  विश्वासको मत लिएर बल्ल बजेटमाथि छलफल सुरु गर्नेदेखि मन्त्रालय बाँडफाँट गर्नेसम्मका काम टुंगोमा पुर्याउने योजना मुख्यमन्त्री पोखरेलको छ ।

मन्त्रालयमा हानथाप

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट पोखरेल मुख्यमन्त्री भएका हुन् । सरकारमा सहभागी नभएको जनमोर्चाले गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ ।

सरकारमा जाने विपक्षी गठबन्धनमा भने मन्त्री र मन्त्रालयबारे टुंगो लागिसकेको छ । यसअघि ४ जनालाई मन्त्रीको सपथ ग्रहण गराइए पनि उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन । मन्त्रिमण्डलमै रहेका बिनाबिभागीय मन्त्रीकै बीच पनि मन्त्रालयमा हानथाप छ ।

सांसद कुमार खड्काले अर्थ मन्त्रालय दाबी गरिरहेका छन् भने जनता समाजवादी पार्टीका हरिशरण आचार्यले पनि अर्थ नै ताकेका छन् । सकेसम्म अर्थ लिने र नभए भौतिक पूर्वाधार मन्त्रालय चाहिने जसपाका आचार्यले दाबी गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालय स्वतन्त्र सांसद दीपक मनाङेले मागिरहेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्व सरकारको युवा तथा खेलकुद मन्त्री हुँदा नै विपक्षी कित्तामा उभिएका मनाङेले जुन मन्त्रालय मागे त्यही दिनुपर्ने दबाबमा मुख्यमन्त्री छन् । किनकी मनाङेले साथ दिएकै कारण पोखरेल मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालयलाई बढाएर ११ मन्त्रालय पुर्याएका थिए । भागबण्डा मिलाउन पनि ११ वटै मन्त्रालय बनाउने तयारी विपक्षी गठबन्धनको छ ।

कांग्रेस र माओवादीलाई ४/४ जनता समाजवादी २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने एक मन्त्रीले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर