मेलम्चीलाई मल्हम!

असार ०४, २०७८

फरकसमाचार


मंगलबारदेखि मेलम्ची निरन्तर दुखिरहेको छ, दुखाइका नयाँ नयाँ पाटाहरु अझ उघ्रिने क्रम पनि निरन्तर छ। सोच्दै नसोचेको वा अनपेक्षित घटना सिन्धुपाल्चोकको मेलम्ची भोगिरहेको छ। सयौं रोपनीको खेत बगरमा परिणत भएको छ। बस्ती उजाड र उराठ भएको छ। कयौं मेलम्चीबासीका सपना मेलम्ची खोलामा आएको लेदोसहितको बाढीले हुत्याइ दिएको छ, हजारौंका सपनाहरु पुरिएका छन्। मेलम्चीमा सपनाहरुमात्र हैन, कयौं व्यक्तिहरु पनि बेपत्ता भएका छन्। मेलम्ची साँच्चिकै दुखिरहेको छ।

यसरी दुखिरहेको मेलम्ची अहिले मल्हम खोजिरहेको छ। विभिन्न तह र तप्काबाट उद्दारको मल्हम लगाउने काम भए पनि, त्यसले उल्लेख्य रुपमा प्रभाव पार्न सकेको छैन। विस्थापितहरु ओत खोजिरहेका छन्, चुलो, भान्सा, भकारी पुरिएकाहरु खाना, खाजा खोज्दैछन्। कपडा खोज्दैछन्। यो विषम स्थितिमा मेलम्ची राहतको मेलम्ची खोजिरहेको छ।

विभिन्न मनकारी व्यक्तिहरु, संघसंस्थाहरु राहत सामग्री लिएर मेलम्चीको प्रभावित ठाउँहरुमा गइरहेका छन्। उनीहरुले आफूले सक्ने तरिकाले राहत वितरण गर्ने काम गरिरहेका छन्। यो क्रममा उनीहरुले आफूले बाँडेको राहतको साविति दिनका लागि फोटो खिच्ने, सेल्फी खिच्ने गरी मेलम्चीले पारेको घाउलाई अझ कोतर्ने काम गरेका छन्। पीडितलाई निक्कै निरीह देखाएर थप पीडामाथि पीडा दिने काम स्वयम् राहत बाँड्नेहरुबाट भइरहेका छन्। राहत बाँड्नका लागि राजनीतिक दल, उनीहरुका भ्रातृ संगठनहरु पनि पुगेका छन्। राष्ट्रका ठूला पदमा पुगेकाहरु पनि हेलिकप्टरमार्फत् सो स्थानको स्थलगत अवलोकनका लागि पुगेका छन्। त्यसरी पुगेकामध्ये कतिपयले ‘स्वार्थ मिश्रित राहत’ वितरण गरेको आभाष गरेका छन्, स्थानीयबासीले। यो किसिमको राहत वितरणले मेलम्चीलाई थप आहत पुर्याइरहेको छ।

विपत्ती आएको बेला ‘गोहीको आँसु चुहाउने’ प्रवृत्ति र स्वभावले गर्दा विगत लामो समयदेखि नेपालका थुप्रै ठाउँहरु विभिन्न नामका प्राकृतिक विपत्ती भोग्न बाध्य छन्। हिउँदमा मान्छेले खोलामा मनखुसी गर्ने अनि वर्षायाममा खोलाले मनखुसी गर्ने खेल विगत लामो समयदेखि चल्दै आएको छ।

प्राकृतिक विपत्ती कुन बेला कसरी आइपर्छ? त्यसको कुनै टुंगो छैन। यसैले यो विषयमा स्थानीय तहदेखि केन्द्रीय सरकारी तहसम्मले समयमै पूर्व तयारी गर्नुपर्ने भए पनि मेलम्चीको यो घटनाले फेरि पनि पूर्व तयारीमा हामी चुकेको प्रष्ट देखियो। मेलम्चीमा मात्र हैन, हामी प्रायः वर्ष कुनै न कुनै ठूला प्राकृतिक विपत्ती भोग्दै आएका छौं। यो भेगाइ भए पनि हामीले पूर्व तयारीका लागि गर्नुपर्ने काममा ध्यान नदिँदा आएको विपत्ती व्यवस्थापन सीप अवलम्बन गर्न हामी अझ चुकिरहेका छौं।

हुन त सधैँभर सत्ताको घाउले पिरोलेको यो देशमा सधैँ सत्तामा जाने नेताहरुलाई नै मल्हमको आवश्यकता पहिलो प्राथमिकतामा परेको यथार्थलाई अस्विकार गर्न सकिन्न। परिणामतः अहिलेको आँसुको वर्षात् झेलिरहेको मेलम्ची भित्रैदेखि दुखिरहँदा पनि सत्ताको घाउमा मल्हम खोजिरहेकाहरुले मेलम्चीलाई मनले सम्झिरहेका छैनन्। यही नियतिले देशका थुप्रै मेलम्चीहरु दशकौंदेखि तड्पीरहेका छन्।

विकासको नाममा हुने अन्धाधुन्ध विनास, भौगोलिक अध्ययन विनाको विकास, समाजशास्त्रीय अध्ययनविनाको विकास, पर्यावरणीय स्थितिको अध्ययन विनाको विकासको परिणाम अन्ततः भयानक दुर्घटना र विनास नै भएको विभिन्न अध्ययन, अनुसन्धानले पनि देखाएको छ। त्यसलाई पालना गर्नभन्दा पनि पन्छाउने नेतृत्वको स्वभाव, उदासिनताको सिकारमा निरीह जनता पर्ने गरेका छन्।

विपत्ती आएको बेला ‘गोहीको आँसु चुहाउने’ प्रवृत्ति र स्वभावले गर्दा विगत लामो समयदेखि नेपालका थुप्रै ठाउँहरु विभिन्न नामका प्राकृतिक विपत्ती भोग्न बाध्य छन्। हिउँदमा मान्छेले खोलामा मनखुसी गर्ने अनि वर्षायाममा खोलाले मनखुसी गर्ने खेल विगत लामो समयदेखि चल्दै आएको छ। व्यवस्थित र वैज्ञानिक वस्ती विकास, खेतीपातीका लागि योजना बनाउने र त्यसको कार्यान्वयन नगर्ने स्वभाव केन्द्रदेखि स्थानीय तहसम्म व्यापक छ। त्यो स्वभावलाई नहुत्याएसम्म बाढीले, पहिरोले, भूक्षयले हामीलाई पिरालिरहने छ।

मेलम्ची भन्ने बित्तिक्कै धेरैको मनमा स्वभाविक रुपमा काठमाडौँ पनि जोडिन्छ। किनकि काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्चीको मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?

अतः अब मेलम्चीमा मनहरु जोडिन जरुरी छ। मेलम्चीको विद्रुप रुपले घाइते बस्ती, खेल खलियान, पाखा, पखेरा, भावना जोडिएका घरहरु जोड्नका लागि मल्हम बन्नुपर्छ।साभार नागरिक दैनिक