बच्चाको तालुमा पटक पटक तेल लगाउन हुँदैन
सोमबार, असार २१, २०७८ मा प्रकाशित

असार २१,( फरक समाचार)/ म हरेक २ हप्तामा कानमा तोरीको तेल हाल्छु । हरेक हप्ता म शरीर भरी तेल मालिश गर्छु । हरेक राती सुत्नु भन्दा अघि खुट्टाको पैतालामा तेल लगाउँछु । जाडोको बेलामा अलि बढी नै तेल पैतालामा लगाउँछु ।

जाडोको बेलामा अलि बढी नै तेल पैतालामा लगाउँछु र सुतीको मोजा लगाएर सुत्छु । कपाल नुहाउनु भन्दा दुई घण्टा अगाडि तेल, दही, कागती मिसाएर कपालमा लगाएर दुई घण्टा पछि नुहाउछु । यी काम गर्दा मलाई धेरै पैसा लाग्दैन, अनेकन थरिका बाहिरबाट ल्याइएका महँगा क्रिमले जिउ र खुट्टा मालिस गर्न पर्दैन ।

कपालमा चाँया पर्‍यो भनेर अनेक थरिका महँगा स्याम्पो पनि प्रयोग गर्न पर्दैन । हो, मेरो कपाल टिभीमा देखाए जस्तो सलल परेको छैन तर स्वस्थ छ म त्यसैमा संन्तुष्ट छु । सबभन्दा महत्वपूर्ण कुरा तोरीको तेल लगाउँदा मेरो शरीर स्वस्थ रहेको छ, त्यसले गर्दा मनमा पनि फुर्ती छ । यसको अर्थ मेरो खर्च पनि केही बचेको छ ।

मसाजले गर्दा शरीरमा आनन्द भएपछि निन्द्रा पनि राम्रो लाग्छ र यसले गर्दा रोगसँग लड्ने शक्ति पनि बढाउँछ । निन्द्रा लागेपछि जिउको आलस्य पनि कम हुन्छ, मज्जासँग भोक लाग्छ अर्थात रोगसँग लड्ने शक्ति मिल्छ । कोरोना कालमा रोगसँग लड्न शक्ति बढ्नु भनेको एक कोरोनाको संक्रमणबाट बच्न केही मद्दत पुग्नु हो ।

केही दिन अघि मैले बालबालिकालाई “पाउडर होइन, तेलले मालिस गर्नुपर्छ” भन्ने एक लेख लेखेपछि धेरै जनाको धेर्रै विचार आयो । “तोरीको तेलले बच्चालाई एलर्जी गर्छ” भनेर स्वास्थ्यकर्मीले तोरीको तेल नलगाउनु भनेको” एक व्यक्तिले मलाई भने । मैले भनेँ “हो बच्चालाई तोरीको तेलले समस्या गर्छ भनेर थाहा छ । नेपालमा शायद कसैकसैलाई एलर्जी गर्न सक्छ । त्यो बेलामा प्रयोग नगर्न सकिन्छ । नत्र तोरी, नरिवल, तिलको तेलले मसाज गरे हुन्छ । तर तेल मात्र लगाएर मालिस चाहिँ नगर्ने अनि सफा नगरेर गुम्स्याएर राख्ने, र सफा नगरी चिसो लाग्छ भनेर “तेलको लेप मात्र थपिदिनै, तालु पुर्नलाई भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउने जस्ता चलनले चाहिँ बेफाइदा गर्छन् ।”

डा. समिर लामाले मलाई लेख्नु भयो । “यो कुरासँग म सहमत छु । तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरे चाहिँ गन्ध आउँछ । गाउँ घरमा सुत्केरी र नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गनाउँछ किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्याल ढोका थुनेर राखिन्छ । यसले गर्दा सास सम्बन्धी र  छालाको संक्रमणको खतरा बढ्ने भएकोले शायद केही स्वास्थ्यकर्मीले “तेल लगाउन” प्रोत्साहन नगरेको हुन सक्छ ।”

त्यसैगरी तालुमा तेल पटकपटक लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि संक्रमण हुन्छ । गाउँघरमा सबैजनालाई बुझाउनु पर्छ कि “तेलको लेपले तालु पुरिने हैन तालु केही समयपछि आफै पुरिन्छ ।”

टाउकोमा बिस्तारै तेलको लेप लगाएर मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन । त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल थोपर्दा त संक्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ । खुल्ला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ । नत्र तेल गनाउँछ अनि लुगामा पनि लाग्छ र त्यो लुगा धुदा पनि तेलको गन्ध रहिरहन्छ ।

टाउकोमा तेलको लेप लगाएर टोपीले छोप्ने गर्नुहुन्न । विदेशी भूमिमा चाहिँ अनेक थरिका क्रिमले बच्चालाई मसाज गर्न प्रेरित, हुने हामी नेपालीहरू आफ्नो हजारौ वर्षको परम्परागत ज्ञान ‘तोरी, तिल, बदाम आदिको तेलले मसाज गर्नुपर्छ’ भन्दा ‘तोरीको तेल ठिक हुन्न’ किन भनेको बुझि नसक्नु छ । म त हजुरआमाले लगाएको तोरीको तेल लगाएर हुर्के, अहिलेसम्म म तेल लगाउँछु । मेरी छोरीहरूलाई पनि लगाएँ ।
तर यसो गर्दा आमा बच्चा दुबै नियमित सफा गर्नु जरुरी छ । जेल मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ । पछि सुत्केरी तंग्रिएपछि तातो पानीले नुहाए हुन्छ । यसले मन र शरीरमा ताजापन ल्याउँछ ।

“सयौ वर्षौदेखि चलेको हाम्रा राम्रा चलन छन् तर तिनका फाइदा, वैज्ञानिक कारण बुझेर सहि तरिकाले प्रयोग गर्दै अघि बढ्दा राम्रो हुन्छ ।” डा. समिर लामाको कुराले मन छोयो ।

त्यसैगरी बालबालिकाको जिउमा घाउ भयो भने निमको पात उमालेर त्यो पानीले जिउ नुहाइदिने पुरानो चलन नै हो पनि बिर्सिएर अहिले अनेक थरिका साबुन प्रयोग गरिन्छ । “निमको पातमा ‘विभिन्न किटाणु विरुद्ध लड्ने शक्ति हुन्छ” त्यसैले बच्चाहरूलाई निमको पात उमालेर त्यसको पानलिे नुवाइदिए हुन्छ ।

प्रसिद्ध वैज्ञानिक डा.वन्दना शिवाले ‘निम’ नामक किताबमा लेखेकी छिन् । “निमको यो ज्ञान हाम्रो पुर्खाहरूलाई हजारौ वर्षदेखि नै थियो । अहिले बिस्तारै त्यो हराउँदै गएको छ ।” आधुनिक भएर घरमा निमबाट बनेको साबुन चाहिँ हामी प्रयोग गर्छौ तर घर आगनमा रहेको सित्तैमा पाइने निमको पातलाई चाहिँ ‘पुरातनवादी’ भनेर प्रयोग गर्न हिचकिचाउँर्छौं । ‘निम धर्तीको अमृत’ माने पनि हुन्छ” भन्ने कुरा डा. वन्दना शिवाले भनेकी थिइन् ।

बच्चाहरूलाई ‘पेटमा’ जुका पर्‍यो भने निम , ‘तितेपाती’ को रस पनि प्रयोग गर्न सकिन्छ । जिउँमा घाउ खटिरा भए पनि तितेपाती पानीमा उमालेर मनतातो भएपछि त्यो पानीले बच्चालाई न्वाइदिदा वा त्यो पानीले घाउ सफा गर्दा बच्चालाई बिस्तारै घाउँ कम हुन्छ । नेपालका विभिन्न ठाउँमा पाइने तितेपातीहरूको बोटको प्रयोग वास्तवमा राम्रोसँग हुनै पाएको छैन ।

उत्तम बज्राचार्य नाम गरेको एक ब्यक्तिले मलाई भनेका थिएँ । “तितेपातीको तेल रु. १५ हजार लिटरमा जापानमा जान्छ” उनको यो भनाइलाई मैले धेरै तालिममा भनेपछि मात्र बिस्तारै तितेपातीको महत्व मानिसले बुझ्न थालेका छन् ।

तोरी, निम, तितेपाती अदिको प्रयोग हाम्रो समाजमा हजारौ वर्षदेखि हुँदै आएपनि अहिले त्यो चलन हराउँदै गएकोले फेरी पुन जागरण गरी बहस चलाउने कि ? यस्ता वनस्पतीहरूलाई स्याहार गरेर प्रयोग गर्नुको अर्थ स्वास्थ्य राम्रो पार्नु हो, पैसा बचाउनु हो, वातावरण पनि स्वस्थ पार्नु हो ।

तराइतिर र पहाडमा नीम, तितेपाती आदि सहजैसँग पाइन्छन् । पैसा तिर्न पर्दैन तोरीको तेलले मसाज गर्दा कसैलाई पैसा तिर्न पर्दैन । विदेशमा भने तिर्नपर्छ । तेल लगाएर अलि सफाइ मात्र गर्न पर्छ । यस्तो स्वस्थ परम्परा जसले हामीलाई स्वस्थ बनाएर, पैसा जोगाउँछ, वतावरणको रक्षा गर्छ त्यस्तो ज्ञान किन अंगिकार नगर्ने त ? हेल्थ पाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय