योजना आयोगको उपाध्यक्षमा चार दावेदार
बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

काठमाडौं, साउन ६ । सरकारको सल्लाहकार मानिने राष्ट्रिय योजना आयोगमा नियुक्तिका लागि दौडधुप सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगमा उपाध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि तयारी थालेसँगै दावेदारले राजनीतिक भेटघाट र छलफल तीव्र बनाएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालभर प्रा.डा.पुष्पराज कँडेल उपाध्यक्ष रहे । उनीसहित आयोगका पदाधिकारीहरुले राजीनामा दिएका छैनन् । तर नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएसँगै नयाँ टिम ल्याउन छलफल सुरु भएको छ ।

आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ ।

आयोगले बजेट निर्माण, बजेट कार्यान्वयनको अनुगमन र आवधिक योजनाहरु निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली पनि मानिन्छ । व्यक्तिगत रुपमा आफ्नो प्राज्ञिक क्षमता प्रस्तुत गर्ने र व्यक्तित्व उचो बनाउने थलो भएकाले पनि योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति लिन खोज्नेहरु धेरै हुन्छन् ।

कांग्रेस निकट अर्थशास्त्रीहरुका अनुसार अहिले चार जनाको नाम सम्भावित उपाध्यक्षका रुपमा चर्चामा छ । डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकी, डा. तिलक रावल र विश्व पौडेललाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।

‘वरिष्ठलाई बनाऔं भन्ने भयो भने डा. शंकर शर्मा दोहोरिन सक्नुहुन्छ वा अरु नयाँ अनुहारको आउने सम्भावना छ’, स्रोतले भन्यो, ‘छलफल भने अहिलेसम्म चार जनामा केन्द्रित छ ।’ डा. शर्माले यसअघि पनि योजना आयोग सम्हालिसकेका छन् । डा. शर्मा योजना आयोगको उपाध्यक्षमा सबैभन्दा बलियो दाबेदार मानिन्छन् ।

डा. रावल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । उनी पोलिमर नोट छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि राजनीतिक नियुक्तिको दावेदारका रुपमा आएका हुन् । उनी तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको पालामा मधेसी जनअधिकार फोरम छोडेर कांग्रेस प्रवेश गरेका थिए ।

प्रभु बुढाथोकी योजना आयोगका पूर्वसदस्य हुन् । उनी देउवा निकट मानिने भएकाले पनि उनको दावेदारी पनि बलियो रहेको मानिन्छ । डा. पौडेल भने युवा अर्थशास्त्री हुन् ।

अहिलेको सरकार कम्तिमा डेढ वर्ष रहन सक्ने भएकाले त्यो अवधिसम्म सरकारका आर्थिक तथा विकासे योजनाहरुको नेतृत्व गर्ने अवसर योजना आयोगमा आउनेहरुलाई हुनेछ ।

अस्थिर योजना आयोग

सरकार परिवर्तनपिच्छे परिवर्तन हुने नेतृत्वका कारण योजना आयोगसमेत अस्थिर बन्ने गरेको छ । ठूलो जिम्मेवारी बोकेर बसेको आयोग कार्यकर्ता भर्तीकेन्द्र जस्तो मात्र बनेको चिन्ता गर्छन् आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री ।

‘योजना आयोग जुन उद्देश्यले सञ्चालित छ, त्यसको सञ्चालन त्यसअनुसार छैन,’ उनी भन्छन्, ‘जतिसुकै ठूलो डाक्टर र विद्वान आएपनि पार्टीको छायाबाट बाहिर निस्कन नसकेपछि प्रधानमन्त्रीसँग आएको पद, प्रधानमन्त्रीसँगै जान्छ ।’

यसले मुलुकले भने कहिले पनि स्थिरता नपाउने उनी बताउँछन् । योजना आयोगसँग मुलुक हाँक्ने योजना बनाउने कार्यभार हुन्छ । तर, त्यसलाई सही रुपमा उपयोग गर्न भने सकिएको छैन । कतिपय मानिसले करियर बनाउन मात्र आयोगको उपयोग गर्छन् ।

पछिल्लो समयमा काम गर्नेभन्दा पनि प्रधानमन्त्री र मन्त्रीहरु रिझाएर आफ्नो स्वार्थ सोझाउनेहरुका कारण योजना आयोगको गरिमा बढ्न नसकेको पूर्वउपाध्यक्ष क्षेत्रीको विश्लेषण छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय