बलात्कार मुद्दामा महराले पाए उच्च अदालतबाट पनि सफाइ
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

काठमाडौं, साउन १२ / उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको छ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।

‘न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासबाट पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी फैसला भएको छ,’ सिंहले भने।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।

२०७५ असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीलाई भनेकी थिइन्।

‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतार-हतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी  थिइन्।

त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाणका रुपमा जुटाइएको थियो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल, रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको थियो।

यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो। पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर थियो।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय