एजेन्सी, साउन २१ / झन्डै" />
चीनमा पनि कोरोनाभाइरस फैलिँदै
बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

एजेन्सी, साउन २१ / झन्डै दुई वर्षअघि कोरोनाभाइरस महामारी सुरू भएको चीनमा अहिले उक्त भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको छ।

डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेपछि चीनभरिका अधिकारीहरूलाई सरकारले कोरोनाको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार उपप्रधानमन्त्री सुन चुनलानले बुधबार भएको महामारी रोकथाम तथा नियन्त्रणको बैठकमा परिस्थित एकदमै तरल रहेकाले संक्रमण नियन्त्रणमा नरहेको संकेत गरेकी छन्।

उनले देशका विभिन्न भागमा संक्रमण देखिएकाले अब यो कसरी अगाडि बढ्छ भन्ने निश्चित नभएको बताइन्।

पछिल्लो समय नानजिङ कोरोनाको नयाँ हटस्पट बनेको थियो। गत साता चुनलानले उक्त संक्रमण नियन्त्रणमै रहेको बताएकी थिइन्।

‘हरेक ठाउँले महामारी रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। चौबीसै घन्टा निर्देशन प्रणालीलाई सक्रिय राख्नुपर्छ,’ उनले भनेकी छन्,‘कुनै ठाउँमा सक्रमण देखिएको छैन भने पनि अधिकारीहरूले रोकथाम काम कडाइका साथ गर्नुपर्छ। एक जना संक्रमित फेला पर्नासाथ तत्काल नियन्त्रणको काम गर्नुपर्छ।’

उनले कोरोनाविरूद्ध एक सेकेन्ड पनि हेलचक्र्याइँ गर्न नहुने कुरामा जोड दिएकी छन्।

‘हाम्रा विमानस्थल, बन्दरगाह र सीमा क्षेत्रलाई जोगाउनु जरूरी छ र कुनै कमजोरी भए सम्बन्धित ठाउँको प्रमुख अधिकारी जिम्मेवार हुन्छन्,’ उनले भनिन्।

उनले देशभरिका अस्पताल र क्लिनिकमा पनि कुनै कमजोरी छ कि भनेर निरीक्षण गरिने जानकारी दिइन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार तीन साताअघि नान्जिङबाट सुरू भएको डेल्टा भेरियन्टको संक्रमण अहिले चीनका १७ प्रान्तमा पुगिसकेको छ। ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङका अनुसार चीनभरि १४४ क्षेत्रलाई मध्यम र अति जोखिम भएका क्षेत्र तोकिएको छ। गत डिसेम्बरयता पहिलो पटक यति धेरै ठाउँलाई जोखिमयुक्त सूचीनमा राखिएको हो।

कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरूले पूरै जनसंख्याको परीक्षण थालेका छन् भने कतिपयमा लकडाउन गरिएको छ।

चीनले अहिलेसम्म झन्डै १ अर्ब ७० करोड डोज कोरोना खोप लगाएको जनाएको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्र लगाइरहेको छ। उसले बनाएका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।

पहलो पटक भारतमा देखिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टले निकै संक्रामक छ। पछिल्लो समय संयुक्त राज्य अमेरिकामा पनि यही भेरियन्टले संक्रमण बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय