दाङ, साउन २७ / पछिल्लो समय निकै चर्चामा आएको तुलसीपुर–१४ ड्वाङपुर रहेको अविरल वर्षाका कारण ढलेको छ।
जिल्लामा प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयहरु दुखी भएका छन्। तुलसीपुरदेखि करिब १४ किलो मिटर दूरीमा रहेको उक्त हात्ती ढुङ्गा अविरल वर्षाका कारण ढलेको तुलसीपुर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए।
हात्ती ढुङ्गा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण नहुदाँ वर्षाका कारण पहिचान नै मेटिने गरी ढलेको उनले जानकारी दिए। लामो समयदेखि ऐतिहासिक पहिचान बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयले दुःख व्यक्त गरेका छन्। स्थानीय तथा समाजसेवी जागेश्वर वलीले स्थानीय सरकारले समयमै ध्यान दिन नसक्दा भत्केको बताए।
उनले भने,‘ हामीले स्थानीय सरकारलाई पटक पटक भन्यौ । तर, कुनै सुनुवाइ नै भएन । अन्ततः आज नगरको एउटा चिनारी पनि ढल्यो।’
पछिल्लो समय उक्त ढुङ्गा हेर्नका लागि दाङ लगायत छिमेकी जिल्लाहरूबाट दैनिक सयौँको सङ्ख्यामा आउने गर्दथे ।
वरिपरि समतल र बीच भागमा अग्लो माटोको ढिस्कोमा ठुलो ढुङ्गा हात्ती जस्तै अडिएको थियो। जसका कारण स्थानीयहरु यसलाई हात्ती ढुङ्गाको नाम राखेका थिए, भने धार्मिक शक्ति भएको भन्दै पूजाआजा गर्दै आएका थिए।थाहाखबरबाट साभार