कोरोना संक्रमण बढ्दो, सरकारी कार्यालयमै मनपर्दी
बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, साउन २८

जिल्लामा कोरोना संक्रमण पुष्टि हुन छोडेको छैन । संक्रमित बढिरहेको स्वास्थ्य कार्यालय बर्दियाको रेकर्डले पुष्टि गर्छ । बुधबार मालपोत कार्यालयमा फरकसमाचारका संवाददाता अनुगमन गर्दा अचाक्ली भिड देखियो । त्यही भिडभाँडको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दै गरेका मालपोत कार्यालयका कर्मचारीले मास्क लगाएका थिएनन् ।

कार्यालयमा कार्यरत कर्मचारीले मास्क लगाउँदैनन, भने कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई मास्क लगाउन कसले भन्ने, यो विषय अन्योल छ । मालपोत कार्यालयले स्वास्थ्यका मापदण्डको पालना नगरी सेवा दिईरहेको देखियो । कार्यालयको तर्फबाट सामाजिक दुरी कायम गर्ने कुनै पनि संकेत देखिएन ।

जसले गर्दा सेवाग्राही तछाड मछाड गरी भिडभाँड गरेको देखियो । संक्रमण हराएको छैन तर स्वास्थ्य मापदण्डका सावधानी हराएको छ । त्यसैगरी सर्वसाधारणले स्वास्थ्यका मापदण्ड लत्याएर बजारमा हिडिरहेको देखिन्छ । उता, मालपोत कार्यालयका कर्मचारीले सेवा दिन लापरबाही गरेको सेवाग्राहीले गुनासो गरे । सेवा दिन मनलाग्दी गरेको अधिकांश सेवाग्राहीको आरोप छ ।

माक्स लगाउँन आग्रह गरेपनि सेवाग्राही अटेर गरेको कार्यालय प्रमुख भिम बहादुर केसीले बताए । ‘हामीले आग्रह गर्ने हो माक्स लगाउँन मान्दैनन्’उनले भने,‘ अटेर गरेपछि के नै भन्न मिल्छ र ?’ सेवाग्राहीलाई मालपोत कार्यालयले दिने सेवामा समेत दलाल मार्फत दर रेट तोकेर खुलेआम असुल गरिरहेको स्रोतको आरोप छ ।

संक्रमण दर फेरी उकालो लागेको संकेतले स्वास्थ्यकर्मी चिन्तित छन् । सर्वसाधारणको लापरवाहीले संक्रमण दिनहुँ थपिदै गएको छ । जबसम्म सबै जनाले स्वास्थ्यका सावधानी अपनाउँदैनन्, तबसम्म कोरोना संक्रमणको चैन ब्रेक नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

कोरोना संक्रमण पुर्ण रुपमा हराएको छैन जसले गर्दा सबैले स्वास्थ्यका मापदण्डको पालना गर्न स्वास्थ्यकर्मीहरु औल्याउँछन् । हाल जिल्लामा २ सय ६ जना संक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ६ हजार ६ सय २४ पुगेको छ । त्यसैगरी मृतकको संख्या १ सय ९४ पुगेको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय