आज नागपञ्चमी
शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

हिन्दू धर्मशास्त्रअनुसार (आज) शुक्रबार नाग पञ्चमी पर्व मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।

ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ।

ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरू बताउँछन्। यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ।

यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ।

काठमाडौं उपत्यकाका भचाखुसी–स्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, गल्कोपाखा ठमेलस्थित हरिनाग, टुँडिखेल सुन्धाराछेउस्थित मीननाग, थानकोटस्थित नागढुंगा, धापाखेलस्थित नागदह, चोभारपारिको टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका–८ कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो। यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र  नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ। त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख गरिएको छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय