परिवार नै संक्रमित हुन थाले
शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन्। ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ। असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो। तीमध्ये थोरैमा मात्र संक्रमण देखिन्थ्यो।

अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमण डर डरलाग्दो गतिमा बढेको छ। परिवारै संक्रमण हुने संख्या बढेको उनले बताए। ‘पहिला व्यक्तिगत रूपमा संक्रमणको केस थिए। अहिले त परिवारै संक्रमित भएका छन्। ओपिडीमा परीक्षणमा आउनेमा परिवारकै सदस्य छन्,’ उनले भने, ‘हेलचक्र्याइँले गर्दा अहिले परिवार नै संक्रमित हुन थालेका छन्।’ एकै परिवारका ४/५ जना सदस्य नै संक्रमित हुन थालेको बरालले बताए। ‘अहिले बाहिरको अवस्था डरलाग्दो छ । बिरामीको चाप हरेक दिन बढिरहेको छ। परिवारका सबै सदस्य संक्रमित हुँदा अवस्था जटिल बन्दै गएको छ,’ उनले भने।

उनका अनुसार क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ। पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आइसकेको उनले बताए। ‘इमर्जेन्सीमा बेड कुनुपर्ने बेला भएको छ। ओपिडीमा पनि दिनमा ५० जनासम्म आएका छन्। परिवारका सम्पूर्ण सदस्य संक्रमित भएका छन्,’ बरालले भने, ‘संक्रमितको संख्या बढिरहेको छ । अब सरकारले कठोर एक्सन लिएन भने धान्न सकिन्न।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ४८ जना कोरोना विशेषमा र मेडिकल वार्डमा ४० जना बिरामी उपचाररत छन्। कोभिडका लागि छुट्याइएको बेड शतप्रतिशत भरिएको उनले बताए। ‘अब त बेड नै पाउन पनि मुस्किल छ। भएको क्षमतामा बिरामी भरिएका छन्। अरू वार्डमा सार्न पनि समस्या छ। किनकि अरूखाले बिरामी पनि आएका छन्,’ उनले भने। त्यस्तै लेखनाथस्थित संक्रामक अस्पतालमा पनि पूर्ण क्षमतामा कोरोनाका बिरामीको उपचार भइरहेको बरालले जानकारी दिए। लेखनाथको संक्रामक अस्पतालमा पनि ५४ जना बिरामी छन् ।

बरालका अनुसार कोरोनाका बिरामी अक्सिजन लगाउनुपर्ने अवस्थाका छन्। तर, अहिले अक्सिजनको अभाव भने भएको छैन। बिचमा संक्रमण केही घट्दा दैनिक १ सय ६० सिलिन्डर अक्सिजनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको माग धानेकोमा अहिले भने दोब्बर संख्यामा सिलिन्डर प्रयोग हुन थालेको छ। दोब्बर संख्यामा अक्सिजन सिलिन्डर खपत हुन थालेको धेरै दिन भइसकेको उनले बताए। ‘सबैतिर भीडभाड छ। नगरबसमा खुट्टा राख्ने ठाउँ छैन। खोप लगाउने केन्द्रमा उस्तै चाप छ। त्यसले पनि संक्रमण बढाएको हो,’ बरालले भने।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार निकालेको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा प्रदेशका १ हजार २ सय ५६ नमुना परीक्षण गरिएको थियो । तीमध्ये ६ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। यो भनेको करिब ५४ प्रतिशत नमुनामा संक्रमण रहेको स्वास्थ्यकर्मीको भनाइ छ। संक्रमणको यो दर साउन पहिलो साता २५ प्रतिशत हाराहारीमा थियो। साउन ३ गते प्रदेशका सबैगरी १ हजार ४५ नमुना परीक्षण गर्दा २ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो भनेको करिब २५ प्रतिशत हो । त्यही संक्रमण साउन ९ गते ३३ प्रतिशतमा उक्लेको थियो। साउन ९ गते १ हजार ९ जनाको नमुना परीक्षण गर्दा ३ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो।

‘कुनै दिन ५०/५२ प्रतिशतमा संक्रमण उक्लेको देखिए पनि परीक्षणको गतिले गर्दा फरक पर्न सक्छ । नत्र गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भन्छिन्, ‘कहिलेकाहीँ नमुना परीक्षण गर्न नपाउँदाको अवस्थामा तलमाथि पर्छ । तापनि गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ।’ उनले पनि अहिलेको संक्रमण दर हेर्दा अवस्था डरलाग्दो हँुदै गएको बताइन्।

‘हामी २० प्रतिशतभन्दा तलको संक्रमण दरमा कहिल्यै झर्न सकेनौं। कोरोनाको दोस्रो लहरमा हाम्रामा २० प्रतिशतबाट ओरालो लाग्नै सकेन,’ सुवेदीले भनिन्,‘अहिले त उकालो लाग्ने क्रम मात्र छ। अब पनि बेवास्ता गर्ने हो भने संक्रमण ५० प्रतिशत हाराहारीमा नपुग्ला भन्न सकिन्न।’ निषेधाज्ञाको अवस्थामा ओर्लेको संक्रमण दर अहिले खुला भएसँगै बढेको उनले बताइन्। ‘जताततै बेवास्ता छ। यो बेवास्ताले कहाँ पुर्‍याउने हो भन्न सकिन्न,’ सुवेदीले थपिन्।

स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्मा पनि गण्डकीको संक्रमण दर कुनै दिन ५० प्रतिशत हाराहारीमा पुग्न थालेको बताउँछन्। ‘आधा संख्यामा संक्रमित फेला पर्नु भनेको डरलाग्दो अवस्था हो। कडाइ नगर्ने हो भने गण्डकीको अवस्था डरलाग्दो हुनेछ,’ उनले भने। उनका अनुसार अहिले मृत्युको दर पनि बढ्न थालेको छ। दोस्रो लहर कमजोर भएको बेला कुनै दिन कास्कीमा कोरोना संक्रमितको मृत्युदर शून्यमा झर्ने गरेको भए पनि अहिले त्यो संख्या बढिरहेको शर्माले बताए।

‘परीक्षणको आधारमा संक्रमण दर ५५ प्रतिशत पुगेको देखिएको छ । यो दर सधैं एकैखालको त छैन। तर, गण्डकीमा हेलचक्र्याइँ गर्ने बेला भएको छैन,’ शर्माले भने, ‘अब पनि पूर्ण रूपमा लकडाउन नगरी अहिलेको संक्रमण दर घट्न सक्दैन।’ साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय