बुद्धको मुर्तिसहित पाँच जना पक्राउ
बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ३ (फरकसमाचार) / प्रहरीले पुरातात्विक महत्वको बुद्धको मुर्तिसहित पाँच जनालाई बुधबार पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमुल्य धातुको बुद्धको मुर्ति करौडौं रुपियामा किनबेच गरिरहेको सुचनाको आधारमा प्रहरीले मुर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले तस्करी हुन लागेको पुरातात्विक मुर्ति बरामद गर्न सफल भएको छ । बर्दिया प्रहरीले मुर्ति तस्करीमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरी ठुलो सफलता हात पारेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षिय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षिय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षिय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षिय ईश्वर प्रसाद उपाध्याय र जिल्ला जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षिय मग बहादुर नेपाली रहेका छन् ।

मुर्ति किनबेच भईरहेको भनक पाउँन साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली विजय गेष्ट हाउसमा पुगेको थियो । प्रहरीले विजय गेष्ट हाउसको कोठा नम्बर ३ सय २८ मा चेकजाँच गर्दा किनबेच गर्न राखिएको बुद्धको मुर्ति बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रहरीका अनुसार बरामद बुद्धको मुर्ति सयौं वर्ष पुरानो बहुमुल्य धातुको हो । पुरातात्विक महत्वको बुद्धको मुर्ति ७ किलो ७ सय २ ग्राम र ९.५ ईन्च उचाई रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुरातात्विक मुर्तिसहित पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय