‘
पुर्खाले आर्जेको सम्पति अझै आफ्नो बनाउँन सकिएन’
बर्दिया, भदौ ६(फरकसमाचार)
राजापुरका पुराना बासीन्दा तथा गल्ला व्यबसायी बिन्दु श्रीवास्तवले लालपुर्जाको आशामा तीन दशक बिताए । सम्पती भएपनि लालपुर्जा नहुँदा बैंकले ऋण पत्याउँदैन । जसले गर्दा उनको व्यबसायमा धक्का लागेको छ ।
‘पुर्खाले आर्जेको सम्पति अझै आफ्नो बनाउँन सकिएन’उनले दुखेसो गरे । तीन दशक अघि देखि राजापुरको जग्गा दर्ता गर्ने स्थानीयको पटक पटकको प्रयास फेरी अलपत्र परेको छ । पूर्व भुमिसुधार मन्त्री गोपाल दहितले जग्गा दर्ता प्रक्रिया अघि बढाएपछि वडाबाट सिफारिस पाएका जग्गा धनि पनि अहिले निराश भएका छन् ।
राजापुर नगरपालिकाले ४ सय ६२ जनालाई जग्गा दर्ता गर्न सिफारिस गरेको मध्य १ सय ५८ जनाले जग्गा धनि पुर्जा पाए । बाँकी तीन सय चार जनाले अझै पुर्जा पाएका छैनन् ।
नगरपालिकाबाट सिफारिस नापी कार्यालयले जग्गा दर्ता गर्नका लागी ५ वर्ष अघि नापी गर्न शुरु गरेको थियो । नापीमा बिवाद भएपछि जग्गा दर्ता गर्न कानुनी आधार नभएकाले फेरी दर्ता प्रक्रिया रोकिएको हो ।
राजापुरमा ४ सय घरपरिवारको बसोबास रहेको १८ बिगाहा जग्गा दर्ता गर्नुपर्ने छ । २०२० सालमा बजार व्यबस्थापन समितिको पहलमा राजापुरमा बसोबास भएपनि अहिलेसम्म जग्गा दर्ता हुन सकेको छैन ।
गृह मन्त्रालयमा समेत जग्गा दर्ता गर्न आवश्यक भएको उल्लेख गर्दै पटक पटक पत्राचार भएको छ । मन्त्री दहितको पालामा दर्ता प्रक्रिया अघि बढाएपनि राजनितिक परिवर्तनसँगै पटक पटक दर्ता प्रक्रिया अलपत्र हुने गरेको छ ।
राजापुरका घर, घडेरीलाई नगरपालिकाले तीन श्रेणीमा बाँडेको छ । बजारको मुख्य लाईनमा पर्नेलाई ‘क’ र यसै गरि ‘ग’ र ‘घ’ मा बर्गिकरण गरिएको छ ।
बर्गिकरण अनुसार गाबिसले बैठकि कर उठाउने गरेको छ । तत्कालिन गाविसले ‘क’ बर्गमा पर्ने ३ सय ५०, ‘ख’मा पर्ने ३ सय र ‘घ’लाई १ सय २५ रुपैया र १ बर्ग फुटको १ रुपैया देखी १० रुपैयासम्म उठाउने गरेको रेर्कडमा देखिन्छ ।
‘ राजापुर–६ मा मेरा घर, घडेरी छ,’एक व्यबसायी भन्छन्,‘ घर छ भनेर के गर्ने बैकमा राखेर ऋण निकाल्न पाइदैन ।’ आफ्नो सम्पत्तिले बैधता नपाउँदा बैंकबाट ऋण लिन बन्चित भएको उनले गुनासो गरे ।
०४२ सालमा नापी गोश्वारा बाँके, बर्दियाले राजापुर बजार नापी गरेको छ । त्यति बेला पनि जग्गा दर्ता भएन । अहिले पनि जग्गा दर्ता प्रक्रिया अलपत्र पर्ने भएकाले राजापुरबासी दुःखी छन् ।
मन्त्रालयले हाम्रो मागलाई वेवास्ता गरे संघको नेतृत्वमा चरणबन्द आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
पटकपटक राजनितिक दलको अगुवाइमा डेलीगेसन लिएर जाँदा समेत मन्त्रालयले आश्वासन मात्र दिने गरेको स्थानीयले बताए । बाल बिटौरी
कर तिर्दै आएका स्थानीयको नगरपालिकाबाट सिफारिस गरी रेर्कड कायम गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘पुस्तौ देखि बस्दै आएका स्थानीयको माग जायज हो’ उनले भने,‘नगरपालिकाका स्थानीयले जग्गा धनि पुर्जा पाउँनु पर्ने जायज मागमा नगरपालिकाले समर्थन गरेको छ ।’