एजेन्सी,  भदौ ७ / भारतमा " />
भारतीय विज्ञ टोलीको निष्कर्ष: अक्टुबरमा कोरोनाको तेस्रो लहर उत्कर्षमा, बच्चाहरू बढी प्रभावित
सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

एजेन्सी,  भदौ ७ / भारतमा सरकार बनाएको विज्ञहरूको एउटा टोलीले आगामी अक्टुबरमा कोरोनाभाइरसको तेस्रो लहर उत्कर्षमा पुग्ने र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने निष्कर्ष निकालेको छ।

टाइम्स अफ इन्डियाका अनुसार नेशनल इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्टअन्तर्गत बनेको उक्त विज्ञ टोलीले आफ्नो प्रतिवेदन प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा बुझाएको छ।

विज्ञहरूले  तेस्रो लहरको सामना गर्न बच्चाहरूका डाक्टर, अन्य मेडिकल स्टाफ, भेन्टिलेटर, एम्बुलेन्स र अरू स्वास्थ्य सामग्रीको अहिलेदेखि नै प्रबन्ध गर्न सुझाव दिएका छन्।  अहिले भएको जनशक्ति र स्वास्थ्य सामग्री तेस्रो लहर धान्न पर्याप्त नहुने उनीहरूको भनाइ छ।

विज्ञहरूले बच्चाहरूलाई पनि कोरोना खोप लगाउन जोड दिनु पर्ने बताएका छन्। भारतमा अहिलेसम्म बच्चाहरूलाई कोरोनाको खोप लगाउन थालिएको छैन।

वयस्क मानिसहरूले पनि कोरोनाको खोप लगाउने क्रम निकै सुस्त भएकाले तेस्रो लहरले धेरै क्षति गर्न सक्ने विज्ञहरूले बताएका छन्।

यसअघि पनि अक्टुबरमा भारतमा कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्ने कुरा विभिन्न अध्ययनहरूले देखाउँदै आएका थिए। सरकारले बनाएको विज्ञ टोलीका सदस्यहरू पनि सोही कुरामा सहमत भएका हुन्। विज्ञहरूले तेस्रो लहरमा आउने कोरोनाको नयाँ भेरियन्ट पनि निकै संक्रामक हुने बताएका छन्।

केही महिनाअघि भारतमा कोरोनाको दोस्रो लहर फैलिएको थियो। भारतमै उद्गम भएको डेल्टा भेरियन्टले भारतमा पहिलो लहरभन्दा निकै बढी क्षति पुर्‍याएको थियो। दोस्रो लहरका बेला भारतमा एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए।

भारतमा अहिलेसम्म ३ करोड २४ लाख ४८ हजार मानिसलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये ४ लाख ३४ हजारले ज्यान गुमाएका छन्। अहिले पनि भारतमा दैनिक २० हजार बढी संक्रमित थपिन्छन् भने सयौंले ज्यान गुमाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर