सभापतिमा आ–आफ्नै दाबी
मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित

नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्‍याएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको बुझाइ छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरू एकअर्कालाई नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छैनन्।

महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न नसकेका बेला पछिल्लोपटक तोकिएको महाधिवेशन मिति के हुन्छ भन्ने निश्चित छैन। तर, पूर्वर्निधारित मिति तलमाथि नभए वडा अधिवेशन आउन अब केवल १० दिन बाँकी छ। अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै भएपछि नेता लक्ष्मणबहादुर बस्नेतले समझदारीको पहलका लागि सोमबार बैठक राखेका थिए। सभापतिका आकांक्षीहरू नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला बैठकमा सहभागी भएका थिए।

बैठकमा सभापतिका आकांक्षीहरूले संस्थापन पक्ष इतरबाट वडा अधिवेशनअघि नै एउटा उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए। बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए।

‘अहिलेको नेतृत्वका कारण कांग्रेस कमजोर भयो भन्ने निष्कर्ष हो भने त्यसबाट पार्टीलाई जोगाउन एउटा उम्मेदवार दिनुपर्‍यो,’ केसीले भने, ‘एक जना मात्र उम्मेदवार बनाएर जाने कुरामा आकांक्षीहरू लचिलो देखिनुभएको छ।’ वडा अधिवेशनअघि नै साझा उम्मेदवार तय गर्ने र त्यसका लागि छलफललाई अघि बढाउने समझदारी भएको जानकारी दिँदै उनले भने, ‘एक्लाएक्लै लडेर देउवालाई परास्त गर्न सकिँदैन। त्यसका लागि एकताको विकल्प छैन भन्ने भएको छ।’

‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो। अधिवेशन समयमै गर्नुपर्छ। त्यसका लागि आवश्यक तयारीमा जुट्न सबैलाई आग्रह गर्ने कुरा हो,’ केसीले भने, ‘त्योसँगै हाम्रो समूहबाट एकजनाले मात्रै सभापतिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भयो। आजबाट कम्तीमा त्यो विषयमा पनि छलफल सुरु भएको छ।’ धेरै उम्मेदवार बन्ने कुराले वडा अधिवेशनदेखि नै नेतृत्व चयन प्रभावित हुने बताउँदै एकताको सन्देश दिनुपर्नेमा जोड दिँदै केसीले भने, ‘वडा अधिवेशनअगावै एकजना मात्रै उम्मेदवार तयार गर्नुपर्छ भन्नेमा नेताहरूको जोड छ।’ तर, बैठकमा सहभागी सभापतिका आकांक्षीहरूले आ–आफ्ना दाबी र कन्डिसनहरू राखेका थिए।

आकांक्षी सबैले विगतमा जस्तै आफू नै सबैभन्दा बलियो र प्रभावशाली भएको पुष्टि गर्ने प्रयास गर्दै सहमति निर्माण भए आफू बाधक नबन्ने दाबी गरेका थिए। तर, संस्थापन इतरबाट एकभन्दा बढी उम्मेदवार बने आफूले पनि सभापतिमै उम्मेदवारी दिने धारणा नेताहरूले राखेका थिए।नेता महत, अर्जुननरसिंह केसी, सुजाता कोइरालाले साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै त्यस्तो अवस्था नभए आफू पनि नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताएका थिए।

महामन्त्री शशांक कोइराला पार्टी नेतृत्वका लागि आफू सबैभन्दा बलियो उम्मेदवार भएको जिकिर गर्दै सहमति निर्माण हुँदा आफू बाधक नबन्ने तर्क गरेका थिए। नेता शेखर कोइरालाले देशभरिका नेता तथा कार्यकर्ताको समर्थन आफूलाई रहेको दाबी गरेका थिए। नेताले भन्दा जिल्ला तहका नेता तथा कार्यकर्ताले जसलाई भन्छन्, आगामी महाधिवेशनमा उही उम्मेदवार बन्नुपर्ने उनको तर्क थियो।

सभापतिका आकांक्षीले उम्मेदवार नबन भन्दा आफू पछि नहट्ने तर जिल्ला सभापतिसहितका तल्लो तहका नेता तथा कार्यकर्ताको कुरा भने आफूले मान्ने तर्क उनले गरेको स्रोतको दाबी छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिका लागि दृष्टिकोणले सक्षम रहेको जिकिर गरेका थिए। नेता तथा कार्यकर्ताका बलियो समर्थन आफूलाई रहेको भन्दै सिंहले सरकार, संसद्सहित विभिन्न ठाउँमा पावर  सेयर गरेर भए पनि आकांक्षीहरूबीच एकता गर्नुपर्नेमा जोड दिएको स्रोतको दाबी छ।

नेता पौडेलले आफ्नो उमेर र योगदान सबै दृष्टिकोणबाट आगामी महाधिवेशनमा नेतृत्वका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। बैठकमा संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरु हुन १० दिन मात्र बाँकी रहँदा क्रियाशील सदस्यताको टुंगो लाग्न नसकेको जनाउँदै सभापतिका आकांक्षीहरूबीच पनि तल्लो तहको अधिवेशनका विषयमा मतभिन्नता देखिएको थियो।

जिल्ला सभापतिहरूको मागअनुसार छानबिन समितिले सदस्यताको टुंगो लगाएपछि त्यसमाथि दाबीविरोधका लागि समय चाहिने र १८ गतेदेखि अधिवेशन गर्नेैपर्ने अडान राख्न नहुने तर्क केही नेताले गरेका थिए। सदस्यताको विषय जस्ताको तस्तै छाडेर पार्टी महाधिवेशन हुने कुराबाहेक अन्य कुरा सुनिश्चित नहुने भन्दै विधि र प्रक्रिया मिचेर थपिएका सदस्य हेर्न वडाले पठाएको नामको रुजु गर्नुपर्ने र त्यसका लागि पनि केही समय लाग्ने भएकाले तल्लो तहको अधिवेशन केही समय सार्नुपर्ने धारणा उनीहरूको थियो। तर, नेता पौडेलले भदौ १८ गतेदेखि नै वडा अधिवेशन हुनुपर्ने अडान राखेका थिए।

क्रियाशील सदस्यताकै कारण महाधिवेशन स्थगित गर्नुपर्ने अवस्था आउन दिन नहुने भन्दै जिल्ला सभापतिहरूको मागअनुसार तत्काल क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने निष्कर्षमा उनीहरू पुगेका थिए। चाँडोभन्दा चाँडो सदस्यताको टुंगो लगाएर महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै नेता केसीले भने, ‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो। अधिवेशन समयभित्रै गर्नुपर्छ। त्यसका लागि क्रियाशील सदस्यता टुंगो लगाएर सार्वजनिक हुनुपर्‍यो।’ साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय