बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए
बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ १० / लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको हो।

प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई काठमाडौं झिकाइएको प्रधान कार्यालयले बतायो।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शाह रौतहटबाट काठमाडौं आएको बताए। छानबिनका क्रममा केही कुरा बुझ्नुपर्ने भएकाले उनी काठमाडौं आएको कुँवरले बताए।

प्रधान कार्यालयले उक्त प्रकरण छानबिन गर्न एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले काम सुरू गरिसकेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

रौतहट जिल्ला प्रहरी कार्यालय अहिले प्रहरी नायब उपरीक्षक नारायण चिमरियाको जिम्मामा छोडिएको छ। नयाँ प्रहरी प्रमुख पठाउने-नपठाउनेबारे प्रधान कार्यालयले निर्णय गरिसकेको छैन।

रौतहट विवादमा आइरहने ठाउँ हो। यसअघि पनि थुनुवा मृत्यु प्रकरणमा प्रहरी उपरीक्षक रविराज खड्का निलम्बनमा परेपछि उनको ठाउँमा शाहलाई पठाइएको थियो ।

गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो।

उनीसँगै माधवनारायण १ बस्ने वर्ष २४ को धिरज यादव र सर्लाही रामनगर गाउँपालिका – १ बहुअर्वा बस्ने वर्ष २३ को जितेशकुमार यादव पक्राउ परेका थिए।

यादवद्वयलाई प्रयोग गरी मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा पनि प्रहरीले लागुऔषध राखेको पत्ता लागेको थियो। सई उदयप्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाएर लागुऔषध राख्न लगाएको आरोप लागेको छ। ती दुबै प्रहरी निलम्बनपछि हिरासतमा छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय