सहायक सिडिओको नेतृत्वमा कर्णाली नदी कटान क्षेत्र अनुगमन
आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १३ (फरकसमाचार)

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको नेतृत्वमा कर्णाली नदीले कटान गरेको क्षेत्र शनिबार अनुगमन गरिएको छ ।
सहायक प्रजिअ शर्मा, प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, हुलाकी सडकका आयोजना प्रमुख गागल भण्डारी, प्रशासकिय अधिकृत नारायण ढकाल लगायतको टोलीले कटान क्षेत्र र सत्तीघाट पुलको जोखिम न्यूनिकरणका लागि छलफल गरेका छन् ।

कर्णाली नदीमा पानीको सतह बढेपछि कटान, पुल जोखिम भएको औल्याएपछि तत्कालका लागि पुल र कटान रोक्नका लागि अविलम्ब आवश्यक कामलाई अघि बढाउँने टोलीले निष्र्कष निकालेको छ ।

कटान क्षेत्रमा ठूला ढुगां खसालेर कटान रोक्ने काम गरिरहेको आयोजनाले जनाएको छ । हुलाकी सडक अन्र्तगत निर्माण सम्पन्न भएको सत्तीघाट पुल बांगिएर समस्या उत्पन्न भएको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गसिकेको पुल बचाउँन आयोजना खर्च गर्ने भएको छ ।

सत्ति घाट पुल निर्माण शुरु भएपछि कर्णाली आयोजनाले निर्माण गरिरहेको तटबन्ध पुरा नगर्दा पुल भत्किने जोखिम कायमै छ । हुलाकी आयोजनाले राईट वे मा ५० मिटर तटबन्ध निर्माण गर्न सक्ने आयोजना प्रमुख भण्डारीले बताए । ‘तर ५ सय मिटर पक्की तटबन्ध निर्माण नगर्दा सम्म पुल भत्किने जोखिम अझै कायम छ’, उनले भने ।

कर्णाली नदीले राजापुर साईडमा कटान बढाउदै गएकोले बस्ती जोखिममा रहेको सहायक प्रजिअ शर्माले बताए । बस्तीलाई जोगाउँन आयोजनासंग समन्वय गरेर जोखिमलाई न्यूनिकरण गर्न पहल गरेको बताए ।

यदि नदीले गरिरहेको कटान समयमै रोक्न सकिएन भने भौतिक तथा मानविय क्षति हुने बताए । कर्णाली नदीले निरन्तर गरिरहेको कटान रोक्न बजेटको सिमितता रहेकोले गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाई मन्त्रालय लगायतका निकायमा पत्राचार गरिसकेको बताए । समयमै पुलको संरक्षण गर्न र कटान रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।
गत असारमा पुर्व तिरको स्पान भत्किदा फलामे छड राखेर काम चलाएको पुल अन्तत क्षत बिक्षत हुदैछ । अहिले आएर पुल जोड्ने स्पान नै छुट्टिने अवस्थामा पुगेको छ । स्पान दश ईन्च जति फाटिएको छ । कर्णाली नदीको बहाब बढ्दै गएकोले पुल भत्काएर बगाउँन सक्ने स्थानीयको अनुमान छ ।

४५ करोडको लागतमा निर्माण भएको सत्ति घाटको पुलको स्पान छुट्टिएको छ । बर्दिया तर्फको दोस्रो स्पान एक बित्ता छुट्टिएको हो । बर्दियाको राजापुर र कैलालीको टिकापुर जोड्ने पक्की पुलमा ठुला सवारी साधन आवत जावतमा रोक लगाईको छ ।

कर्णाली नदीको सत्तिघाटमा निर्माण पुलमा दोस्रो पटक समस्या उत्पन्न भएको छ । गत असार १२ गते सत्तिघाट पुलको बर्दिया तर्फको पहिलो स्पान भासिएको थियो । पुलको स्पान भासिदाँ पाँच दिनसम्म आवत जावत ठप्प भएको थियो ।

भासिएको स्पानको पुनः मर्मत सम्भार गरि संचालनमा आएको पुल फेरी समस्या देखिएको हो । एक महिनाको अन्तरालमा एउटै पुलमा दुई पटक समस्या देखिदा हुलाकी सडक आयोजनाको लापरबाही भएको पुष्टि हुन्छ ।

पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि सम्पन्न गरेको थियो । १३ वटा स्पान रहेको पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर