बेरोजगार युवाका लागि कुक तालिम सुरु
सोमबार, भदौ २८, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, भदौ २८

बढैयाताल गाउँपालिका–८ मा बेरोजगार युवाहरुको लागि एक महिने कुक तालिमको आइतबार उद्घाटन भएको छ ।
बेरोजगार युवा युवतीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित कुक तालिमको सुरुवात बढैयाताल ८ कण्ठपुर स्थित शुभाष कटेजमा भएको हो ।

नेपाल सरकार श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ब्यबसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैसेपाटी ललितपुरको आर्थिक सहयोगमा संचालन हुने १ सय ६० घण्टे तालिममा बढैयातालका ४० जना बेरोजगार युवा युवतिको सहभागिता रहेको छ ।
एक महिने कुक तालिममा ४ जना युवती र ३६ जना युवक छनोट भएको तालिममा अमृत केसीले प्रशिक्षण गर्ने छन् ।

जेनियस मल्टी टेक्निकल इन्ष्टिच्यूट प्रालि नेपालगंजद्वारा आयोजित तालिमको उद्देश्यका बारेमा प्रकास पार्दै आयोजक संस्थाका संयोजक शिब राना भाटले बेरोजगार युवाहरुलाई सीप सिकाएर ब्यबसायिक तथा उद्यमशिल नागरिक बनाउने नेपाल सरकारको कार्यक्रम भएको भन्दै सरकारको कार्यक्रमलाई सफल पार्न जेनियस टेक्निकल प्रालिले सहजिकरण गरेको बताए ।

यो तालिम नेपाल सरकारको बेरोजगार युवाका लागि लक्षित लेभल वानको निःशुल्क कार्यक्रम हो । तालिममा सहभागिहरुलाई सिटिभिटीको पाठ्क्रम अनुसारको प्रशिक्षण हुने र तालिम पश्चात लेभल वानको सर्टिफिकेट समेत उपलब्ध गराईने बताए ।

बढैयाताल गाँउपालिका–८ का अध्यक्ष तथा तालिम उद्घाटन कार्यक्रममा प्रमुख अथिति सुन्दरमान श्रेष्ठले समयको सदुपयोग गर्न नजानेर धेरै युवाहरु बेरोजगार बनेको अवस्थामा यो सिपमुलक तालिमले युवाहरुलाई ब्यबसायिक तथा स्वरोजगार बनाउनका लागि प्रभाबकारी भएको बताए । सिकेका सीपलाई ब्यबहारमा उतार्नु पर्नेमा जोड दिदै सिप पश्चात पेसा ब्यबसाय गर्न चाहने युवाहरुको लागि स्थानिय सरकारको युवा लक्षित कार्यक्रमबाट सहयोग गर्न सक्ने बताए ।

मयुर युवा क्लबका अध्यक्ष शेलेन्द्र मल्लको अध्यक्षतामा उद्घाटन कार्यक्रममा आयोजक संस्थाका तालिम संयोजक कलेशु चौधरी, प्रशिक्षक अमृत केसी र प्रशिक्षार्थी लगायत ४५ जनाको सहभागिता रहेको प्रालीका संयोजक रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय