भदौ २९ / नेकपा एमालेका अध्" />
झापा पुगेर ओलीको कटाक्ष : माधवले वडा सदस्य जित्दैनन्,  प्रचण्ड छट्टू नेता !
मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ २९ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।

ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।

‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

उनले आफूहरूले माधवलाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए । ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्क फुक्ल्यो ।’ ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको दाबी पनि गरे । उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।

ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै  प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’, ओलीले प्रश्न गरे । अध्यक्ष ओलीले प्रचण्ड असल बाबु, काका र असल ससुरो, सम्धी भए पनि धोकेवाज,बेइमान छट्टू नेता भएको दाबी गरे ।

‘धम्क्याउनुपर्यो भने म आगो हुँ नजिस्क्याउ भनेर अस्ति पनि धम्क्याए । उनले के को आँटले धम्क्याउन खोजेको आफूलाई आश्चर्य लागेको चन्दै प्रचण्डको पछि नलाग्न र अलमलमा नपर्न आव्हान गरे । ‘माधव नेपालको राजनीति नै नभएको भन्दै उनले न जादु, न मन्तर केही छैन, कसैले लगाइदिएको त्यो काममा लाग्नुभएको छ । अव कमरेड माधव नेपाल होइन एमाले विरोधी र जनविरोधी माधव नेपाल’, ओलीको आरोप छ । उनले कम्युनिस्ट आन्दोलन धराशायी बनाउन लागेको भन्दै त्यो सपना पुरा हुन नदिने घोषणा गरे ।

उनले वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपालले नै भूमिका खेलेको भन्दै उनले २ महिना बित्दा समेत सरकार गठन गर्न नसकेबाटै हैसियत देखिएको बताए । उनले एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको बताए ।

उनले जहाँ नेपाली त्यहाँ एमाले भन्दै देशमा मात्रै होइन, विदेशमा पनि एमाले, पसल, बजार, हवाई मैदान, परेड खेल्ने ठाउँ, कलेज स्कुल, विद्यालय विश्वविद्यालयमा एमाले भएको बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले विद्रोहको थलोमा झापामा माओवादीहरू सकिँदै गएको बताए । उनले क्रान्तिका लागि नभई अवसर पाउन र कुण्ठा पुरा गर्न मात्रै केही नेताहरूले एमाले विभाजन गरेको आरोप लगाए ।

खरेलले चोइटिएर गएको माधव नेपाल समूहले जनताको बहुदलीय जनवाद (जबज) छाडिसकेकोले उक्त पार्टीले कम्युनिस्ट आन्दोलनलाई उठाउन नसक्ने दाबी समेत गरे ।

‘क्रान्तिको नेतृत्व सही विचारले मात्रै गर्न सक्छ, माधव नेपालहरूसँग त्यो विचार नै छैन । उहाँहरूले जबज छोडेर किन पार्टी फुटाउनुभयो ? भनेर तपाईँहरूले सोध्नुस्’, खरेलले जिल्लाका कार्यकर्ताहरूलाई सुझाव दिए ।

सत्ता गठबन्धन अवसरवादीहरूको गठबन्धन भएको भन्दै उनले ५ जना प्रधानमन्त्री एकातिर र अर्कोतिर केपी ओली मात्रै भए पनि ओली नै भारी भएको सुनाए ।

कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय