ओमानविरूद्ध बलिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन
आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

काठमाडौं, असोज ३ / आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ।

ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्।

ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पियो।

लिग-२ मा नेपालले ओमानसँग खेलेका पछिल्ला तीन खेलमा पराजय भागेको छ। पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको नेपालले त्यसलाई सुधार गर्ने लक्ष्य लिएको छ।

लिग-२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ।

यता ओमान १२ खेबलाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।सेतोपाटीबाट साभार

खेल तालिका 

नेपाल भर्सेस अमेरिका – भदौ २८ – नेपाल ५ विकेटले विजयी

ओमान भर्सेस नेपाल – भदौ २९ – ओमान ५ विकेटले विजयी

ओमान भर्सेस अमेरिका – भदौ ३१  – ओमान ४ विकेटले विजयी

नेपाल भर्सेस अमेरिका – असोज १ – अमेरिका ६ विकेटले विजयी

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय