लयमा फर्किदै गुलरिया बजार
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज ४

कोरोना महामारीको कारण लामो समय बन्द रहेको गुलरिया बजार लयमा फर्किदै गएको छ । कोरोना भाइरस रोकथामका लागि जिल्लामा गरिएको निषेधाज्ञा हटेसंगै बजारमा चहल पहल देखिन थालेको हो । कोरोनाको संक्रमण ओरालो लागेसँगै बजारको अवस्था पहिला जस्तै सामान्य हुँदै गएको छ ।

लकडाउन हटेपछि पसल खोल्न सुरु गरेको बिन्दु गुप्ताले बताए । तर, कोरोना घटेपनि जोखिम भने कायमै छ । स्वास्थ्यका मापदण्ड अपनाएर व्यवसाय संचालन गरिरहेको गुप्ताले सुनाए ।

उनका अनुसार हिन्दुहरुको ठुला चाड पर्व नजिकिएकोले पसलमा बिक्री बट्टा पनि बढ्न थालेको छ । ‘व्यबसायले गति लिन थालेपछि हामी खुसी छौ’उनले भने,‘ गुलरिया बजारको व्यबसाय पनि आफ्नो लयमा फर्केको छ ।’

चाड पर्व नजिकिएसंगै उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तिब्र पारेको कुरा हाम्रा लागि सुखद पनि छ ।

म्याद नाघेका र लेबल टाँस नगरिएका सामान नियन्त्रणमा लिई नष्ट गरेको आम उपभोक्ताको हितकर छ । चाड पर्व नजिकिदै गरेको समयमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी मिसावटरहित शुद्ध खाद्य सामाग्री बिक्री गर्न उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले व्यवसायीलाई आग्रह गरेका छन् । उनका अनुसार लामो समय बन्द रहेको व्यवसाय लयमा फर्किदै गएको छ । ‘बजारलाई लयमा फर्काउन सबैको साथ र सहयोग जरुरी छ,’ उनले भने ।

स्वास्थ्य कार्यालयमा आईतबार रहेको रेर्कडमा जिल्लामा दुई जनामा कोरोना भाइरस पुष्टि र एक जना निको भएका छन् । कोरोना भाईरसको संक्रमणको संख्या हेर्दा अघिल्लो महिनाको तुलनामा यो संख्या नगन्य हो ।

अस्पतालको इमरजेन्सी वार्डमा आएका उच्च ज्वरोका बिरामीको एन्टिजेन वा पिसिआर परीक्षण गराउँदा रिपोर्ट निगेटिभ आएको इमरजेन्सीका स्वास्थ्य सहायक रुपेन्द्र सोनकरले बताए । ‘अस्पतालमा आउँने विरामीमा उच्च ज्वरो देखिएपनि कोरोना पोजिटिभ भेटिएको छैन,’उनले भने ।

पछिल्लो समय स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार कोरोना भाइरसको संक्रमण ओरालो लागेको पुष्टि हुन्छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६१ रहेको छ । दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार १ सय ६५ पुगेको छ । निको हुनेको संख्या ६ हजार ८ सय ९६ रहेको छ । त्यसैगरी कोरोना संक्रमणले मृतकको संख्या २ सय ८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर