मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ: प्रधानमन्त्री
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

काठमाडौं, असोज ४ / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्।

आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन्।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्।

राजनीतिक दल सम्बन्धी अध्यादेश निष्कृय बनाएपछि मात्रै जसपा सरकारमा जान इच्छुक छ।

तर नेकपा (एकीकृत समाजवादी) ले भने अध्यादेश पारित हुनुपर्ने बताइरहेको छ। सत्तागठबन्धनभित्रै मन्त्रिपरिषद विस्तार कहिले गर्ने भन्नेमा एकमत देखिएको छैन।

जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिमन्डलले पूर्णता पाउने बताए।

संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो पहिले निस्कृय हुनुपर्ने बताइरहेका छन्।

अध्यक्ष यादवका अनुसार मन्त्रालयको भागबन्डाबारे पनि छलफल बाँकी नै छ। कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे छलफल बाँकी नै रहेको उनको भनाइ थियो।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय