एम्बुलेन्स चालक देखि डाक्टरसम्म सम्मानित
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

बर्दिया अस्पतालको वार्षिक समिक्षा

बर्दिया, असोज ११ (फरकसमाचार) / बर्दिया अस्पतालले उत्कृष्ट काम गरे बापत कर्मचारी र संघसंस्था आईतवार सम्मानित भएका छन् । औपचारिक कार्यक्रम विच सम्मानित व्यत्तित्व वा संस्थालाई प्रमाण पत्र प्रदान गरिएको छ ।

अस्पतालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा १६ जना कर्मचारी र २६ जना संघ संस्थालाई सम्मानित गरेको हो । अस्पतालले कोरोना कहरमा उत्कृष्ट काम गरेका एम्बुलेन्स चालक, डाक्टर र विभिन्न शाखामा कार्यरत कर्मचारी सम्मानित भए । त्यसैगरी कोरोनाको विषम परिस्थितीमा अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका र भौतिक संरचना निर्माण कार्यमा सहयोग गरेका व्यक्ति तथा संघसंस्थालाई सम्मानित गरेको छ ।

बिगतका वर्ष देखि अस्पताल सेवाको विस्तार र भौतिक संरचनाको स्वरुप फेरिदै गएको छ । स्वरुप फेरिएसंगै अस्पतालमा सेवा ग्राहीहरुको आकर्षण बढ्दै गएको रेकर्डले पुष्टि गर्छ ।

अस्पतालमा आर्थिक वर्ष ०७५/७६ मा १ हजार १ सय २६ जनाले सुत्केरी सेवा लिएका थिए भने आर्थिक वर्ष ०७६/७७ मा १ हजार ४ सय ३१ जनाले सुत्केरी सेवा पाए । त्यसैगरी आर्थिक वर्ष ०७७/७८ मा १ हजार ९ सय ८ जनाले सुत्केरी सेवा लिएको अस्पतालको रेकर्डमा उल्लेख छ । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत आव ०७५/७६ मा ४४ जना, आव ०७६/७७ मा ६६ जना र आव ०७७/७८ मा ७० जनालाई सेवा दिएको अस्पतालको रेकर्डमा उल्लेख छ । आव ०७६/७७ मा २ हजार ५ सय ४३ जना र ०७७/७८ मा ३ हजार २ सय ५६ जनाले आईपीडी लिएका छन् ।

आव ०७६/७७ मा ४१ हजार ८ सय ५७ र आव ०७७/७८ मा ४७ हजार ५२ जनाले ओपिडी सेवा लिएका छन् । अप्रेशन, इन्डोस्कपी र फिजियोथ्राफी सेवा लिने सेवाग्राहीहरुको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुभाष पाण्डेले बताए । उनका अनुसार अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी प्रारम्भिक उत्पादन सुरु भएपनि जनशक्ति अभाव कायमै छ ।

अक्सिजन प्लान्टको २४ घण्टामा ७० देखि ७५ वटासम्म ठुलो सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । अक्सिजन प्लान्ट संचालन गर्न लगातार विद्युत आवश्यक पर्छ । झ्याप झ्याप हुने बिद्युत कटौतीले प्लान्ट संचालनमा चुनौती रहेको छ । प्लान्ट संचालन गर्न तत्काल १ सय केभिएको जेनेरेटरको आवश्यक रहेका मेसु पाण्डेले बताए ।

एचडियु/आईसियु भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी गराए । २५ बेडको एचडियु भवन निर्माणको कार्य अन्तिम चरण रहेको मेसु पाण्डेले बताए । ‘संघिय र प्रदेश सरकारको सहयोगमा एचडियु वार्डमा बेड पाईपलाइन जडान भएको छ’ मेसु पाण्डेले भने ‘एचडियु संचालनको लागि विषेशज्ञ डाक्टर नर्सलगायतका जनशाक्तिको अभाव छ ।

’ बिगतका दिन भन्दा अस्पतालको भौतिक संरचना देखि दिने सेवा थप भएको र आगामी दिनमा अस्पतालले दिने सेवा बिस्तार गर्दै जाने मेसु पाण्डेले बताए ।

वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठ, प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, गुलरिया नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रकाश देवकोटा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, अस्पतालका जनरल सर्जन डाक्टर विजय उपाध्याय, बाल बिशेषज्ञ विश्वनाथ कुमार शाह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय