‘मेरो त जहाजै डुब्यो’
बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

चितुवाले एकै रातमा २२ बाख्रा मारेको प्रकरण

बर्दिया, असोज १४

१० गते राती २३ वटा बाख्रा खोरमा थुनेर घर फर्किने क्रममा मनमा धेरै कुरा खेलिरह्यो । माउँ बाख्रा पोसिला र पोटिला देखेको साँझ मन हर्षित नहुने कुरै भएन । खोरमा थुनेका पाठा पाठी सलक्क परेका देख्दा पटक पटक फर्किरहे हेरिरहेको थिए त्यो रात । एक वर्षको मेहनतले हुर्काएका बाख्राले सुखद दिनहरुको कल्पना रमाउँदै घर पुगे ।

त्यो साँझ मलाई सधै स्मरण बस्ने छ । सकारात्मक सोच र उर्जा सहित विहानी पख ११ गते फर्म हाउसमा पुगे । कल्पनामा बुनेको सारा सपना खोर ढोका खोल्ना साथ झसक्क बिउँझिए ।

खोर भरी बाख्रा सतारम्म पल्टिरहेको देखे । एउटा मात्र हैन कि खोरमा भएका सबै बाख्रा । मन अतालिएर के भयो भन्ने भयो । छटपटाहटमा हेर्दा सबै बाख्राको घाटीमा च्यापेको पाए ।

कुनै पनि बाख्रा हलचल गरेनन । २३ बाख्रा मध्य २१ वटा बाख्रा खोरमा पल्टिएका देख्दा आँसु झर्नै बेर नै लागेन । दुई वटा बाख्रा कता गयो भन्ने लागेर खोज्न हिँडे । एउटा पाठो खोर तल झरेर बाचेको रैछ । त्यसलाई सम्हाले । माया गरिरहे । एउटा पाठो खोरमा भेटिएन । टाढाको जंगलमा पुग्दा समेत त्यो पाठो पाईन् । एक वर्ष अघि संचालनमा ल्याएको कृषि फर्ममा पालेका बाख्रा चितुवाले मारिदिँदा परिवारमै बज्रपात परेको कृषि फर्म संचालक चन्द्रकान्त पौडेलले सुनाए ।

दशै नजिकिदै थियो । बिक्रि हुने आशा र भरोसा सुखद दिन कल्पना निमेशभरमै हराएको पौडेलले सुनाए ।
बाख्रा पालन व्यवसाय अंगालेका गुलरिया नगरपालिका–५ का ५० वर्षिय पौडेल यतिखेर बिलखबन्दमा परेका छन् । बाख्राको हेरचाहमा व्यस्त रहने उनी खोर हेरर टोलाईरहन्छन् ।

‘ऋण लिएर फर्म संचालन गरेको थिए’उनले भने,‘अब कसरी ऋण तिर्ने चिन्ताले निद्रा बिथोलिरहेको छ ।’ सिडिओ शन्त बहादुर सुनारले फर्म अनुगमन गर्दा मनमा हौसला उत्पन्न भएको पौडेलले बताए । ‘सिडिओ साव आएर क्षति पुर्तीका पहल गरिदिने आश्वासनले शरिरमा घाम लागेको उनी बताउँछन् ।

गत आइतबार राति उनको फर्ममा रहेका २२ वटा बाख्रा एकै रातमा जंगली चितुवाले मारेपछि उनी तनावग्रस्त बनेका हुन् । गुलरिया नगरपालिका–५ मा रहेको सन्तोषी सामुदायिक वन देखि १ सय मिटर दुरीमा रहेको बृष कृषि तथा पशु पंक्षि फर्मको खोरमा पसेर चितुवाले बाख्रा मारेको हो ।

पौडेलले बिगत एक वर्ष देखि बाख्रा फर्म संचालन गर्दै आएका थिए । कृषि विकास बैंकबाट ऋण लिएर श्रीमति विष्णु गौतमको नाममा फर्म दर्ता गरी संचालन गरेका थिए । दशैमा खसी बेचेर घर व्यापार चलाउने आशा चितुवाले खोसेको छ । पौडेलको एक छोरी र एक छोरा छन् ।

संचालन गरेको फर्मबाट आर्थिक लाभ लिई छोराछोरी पढाई रहेको उल्लेख गर्दै चितुवा सुखद दिनहरुको कल्पना खोसेको उनले सुनाए । छोरा सानै छ । कक्षा २ मा पढिरहेको उनले बताए ।

काठमाडौंमा कक्षा १२ मा छोरी अध्ययनरत छन् । पौडेलका अनुसार चितुवाले ३ लाख बराबरको क्षेति गरेको छ । ‘बाख्रा फर्मबाट आर्थिक लाभ लिई घर खर्च चलाउदै आएको’ उनले भने ‘२२ वटा खसी बाख्रा चितुवाले खाँदा आफुलाई धेरै घाटा भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर