सुनको सिक्री चोरेको आरोपमा दुई जोगी पक्राउ
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

पाल्पा, असोज १५ / भिक्षा माग्न घरघरमा डुल्ने दुई जोगी सुनको सिक्री चोरेको आरोपमा पक्राउ परेका छन्। उनीहरुले रामपुर नगरपालिका–४ देवीस्थानकी ५० वर्षीया पूर्ना फालको सिक्री चोरेको प्रहरीले बताएको छ।

भारतको उत्तर प्रदेश जिल्ला श्रावस्ती पोष्ट चमरपुरवाका ३६ वर्षीय रामनरेश हरिजन र ४३ वर्षीय लड्डन हरिजनलाई सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

उनीहरूले फालको घरैबाट सिक्री चोरेर भागेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नुहाउने क्रममा घरको च्यानल गेटमा रहेको ताल्चा झुण्डाउने कुन्डीमा सिक्री झुण्डाएर राखेको अवस्थामा ती आरोपीले चोरेर भागेको त्वातीले बताए। बुधबार दिउँसो साढे १२ बजे सिक्री चोरेर भागेका उनीहरूलाई अपराह्न ४ बजे रामपुरबाट नै पक्राउ गरिएको थियो।

उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ। थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय