" />
साथीलाई सन्देश पठाएपछि ‍लघुवित्तका कर्मचारी सम्पर्कविहीन
शनिबार, असोज १६, २०७८ मा प्रकाशित

सोलुखुम्बु, असोज १६ / एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन्।

सोताङ गाउँपालिका-१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४:२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४:२२ बजे साथीलाई सन्देश पठाएको र ४:२५ बजेदेखि मोबाइल अफ भएको छ।

मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोसी-६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए।

सम्पर्कविहीन भएको थाहा हुनेवित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ।

अहिले प्रहरी चौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय