कपिलवस्तुमा झाडापखालाका बिरामीलाई चौरमा राखेर उपचार गरिँदै
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

बुटवल, असोज २० / कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्तापछि अस्पताल आउने बिरामीहरूको संख्या थपिँदै गएको छ।

सोमबार रातिदेखि फैलिएको झाडाबान्तापछि बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आएकोमा केहीलाई अन्यत्र रिफर गरिएको जानकारी दिए।

मंगलबार दिउँसोसम्म अस्पताल र गाउँघरका क्लिनिकमा गरी करिब २ सय जना बिरामी परेकोमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म करिब ५० जना बिरामी थपिएको घिमिरेले बताए।

अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकहरूमा आउने क्रम जारी रहेको छ। सुरूमा कृष्णनगरका वडा नं. ७, ८ र ९ का गाउँबाट झाडापखालाका बिरामी अस्पताल जाने गरेकोमा मंगलबार रातिदेखि भने महाराजगञ्जका केही वडाबाट पनि बिरामीहरू आउन थालेको शिवराज अस्पताल बहादुरगंजले जानकारी दिएको छ।

कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।

गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलीले झाडापखाला फैलिएका गाउँ र बिरामीहरूको अवस्था बुझ्न कृष्णनगर पुगेको छ।

मंगलबार पुगेको स्वास्थ्य टोलीले परीक्षणको लागि बिरामीहरूको दिसाको नमूना संकलन गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएपछि त्यसको रिपोर्ट आइनसकेको हेल्थ असिष्टेन्ट घिमिरेले बताए।

बुधबार पनि स्वास्थ्य सचिवको नेतृत्वमा मन्त्रालयको एक टोली झाडापखाला फैलिएको स्थानमा पुगेको छ।

झाडापखाला के कारण र कसरी फैलियो यकिन भइनसके पनि बिरामीहरूको अवस्थालाई हेर्दा हैजा भएको हुन सक्ने घिमिरेले बताए। यद्यपि परीक्षणको लागि लगिएको दिसाको रिपोर्ट भने आइसकेको छैन।

‘बिरामीहरूको अवस्था र लक्षण हेर्दा हैजा फैलिएकोजस्तो देखिन्छ,’ उनले भने।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको बताए।

बिरामीहरू सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रिफर गरिएको पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार १३ जना बिरामीलाई तौलिहवा र ८ जनालाई बुटवलतर्फ पठाइएको छ।

अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली, बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए।

यसअघि झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्ध गरी तीन जनाको मृत्यु भइसकेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले बताएका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय