चितवनको पर्यटन प्रबर्ध्दनमा केबुलकारको सम्भावनाः एक छलफल
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

टीकाराम पौडेल

विज्ञानको विकासको कारण आधुनिकीकरण भएको संसार अहिले छिटो, छोटो समिप भएको महसुस गरिएको छ । त्यसको संगसंगै मानिसहरु नयां नयां कुराको खोजको साथै विश्वमा रहेका धर्म संस्कृति, भेषभुषा, भाषा, जीवजन्तु, बोटविरुवा, प्राकृतिक दृश्यहरु, आबिस्कार गरिएका कुराहरु प्रत्यक्ष रुपमा हेर्न, छुन र प्रयोग गर्न चाहन्छन ।

यसको स्मृतिको लागि भिडियो, फोटो खिच्ने मानस पटलमा राख्ने र एक आपसमा साटासाट गर्ने, रोमान्चित एवं फ्रेस हुने पर्यटनको उद्धेश्य र आधारहरु हुन । संसारमा धेरै प्रकारका पर्यटकीय गतिबिधि भएता पनि नेपालमा भने मुख्य रुपमा तीन किसिमका पर्यापर्यटन गतिबिधि संचालनमा रहेको पाइन्छ ।

१.साहसिक पदयात्रा, हिमाल चढ्ने लगायत हिमालय क्षेत्रमा गरिने कृयाकलापमा आधारित

२.धर्म संस्कृतिमा आधारित (मन्दिर, गुम्बा, देवालय,धर्म, संकृति, भाषा,भेषभुषा आदि)

३.प्रकृतिमा आधारित (वन, वन्यजन्तु, प्राकृतिक दृश्यहरु जस्तै नदी खोला ताल हिमाल आदि)

 नेपालमा प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक चितवन

बिश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जले चितवनलाई संशारमा चिनाउने काम गरेको छ । विश्वमा नै दुर्लभ मानिएको एकसिंगे गैडा, पाटे बाघ, घडियाल गोही, गौरी गाई, डल्फिन, लगायत ६८ प्रजातीका स्तनधारी, ४९ प्रजातीका उभयचर, १२० प्रजातीका माछा र ५४५ प्रजातीका चराको सुरक्षित वासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।

चितवन भ्याली भित्री मधेशको साथै चुरे पहाडलाई समेटेको र हिमालयबाट उत्पत्ति भई आएको नारायणी नदी र महाभारतबाट उत्पत्ति भई आएको राप्ती नदी चितवन राष्ट्रिय निकुञ्ज र सो निकुञ्जको मध्यवर्तीको सिमाना भएर बग्ने भएकोले जैविक विविधतामा महत्वपूर्ण भूमिका रहेको, विभिन्न प्रकारका वनस्पति र घांसे मैदान भएको, भित्री मधेशदेखि महांभारत पर्वत र हिमालय श्रृखला चितवनबाटै देख्न सकिने,बोटे मूसहर, थारु, दराई, कुमाल लगायतका आदिवासीको पहिला देखिको बसोबास भएकोले यिनीहरुको भेषभूषा, भाषा, धर्म, संस्कृति,रहनसहन र परम्परा अध्ययनको लागि पनि चितवन अद्वितीय स्थलको रुपमा रहेको छ । रामसार सूचीमा सूचीकृत विसहजारी ताल पनि यस निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा रहेको छ ।

चितवनमा उपलब्ध पर्यटकीय सुबिधाहरु

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, राफ्टिङ्ग तथा ढुङ्गा सफारी, जंगल ड्राईभ तथा जीप सफारी, जंगल वाक, भिलेज वाक तथा पैदल यात्रा र गाडा सफारी लगायतका पर्यटकीय सेवा उपलब्ध छन । पशु अधिकारकर्मीहरुको विरोधका कारण विगत ४-५ बर्षदेखि हात्ती सफारी क्रमशः कम हुंदै गएको छ । खासगरीकन लामो समय घुमफिर गर्न आउने पर्यटकहरुलाई ब्यस्त राख्न र नया नया किसिमको मनोरञ्जन प्रदान गर्नका लागि केहि पर्यटकीय एक्टीभिटिहरु थप गर्दै जानुपर्ने देखिन्छ ।

यसका अतिरिक्त मनोरम भू-दूश्य र जैविक विविधता अवलोकन गरेर आन्नद लिन चाहनेहरुका लागि पनि वन, वन्यजन्तु, प्रकृति र प्राकृतिक वासस्थानमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी सेवा उपलब्ध गराउन जरुरी छ । यसका लागि बिभिन्न कोणबाट छलफल गरी बिबिध कृयाकलापहरु सञ्चालन गर्न सकिन्छ । यसै क्रममा एउटा नया कृयाकलापका रुपमा केबुलकार सेवा थप गर्न उपयुक्त हुन्छकि भन्ने मनशायका साथ आफ्नो अधारणा राख्न गऐरहेको छु ।

केबुलकार संचालन गरी पर्यटकीय सेवा बिस्तार

नेपालमा राणा प्रधानमन्त्री चन्द्र शमसेरले बि.सं. १९८२ मकवानपुरको भिमफेदी नजिक धोर्सिङ्ग देखि काठमाण्डौको मातातिर्थसम्म २२ कि.मि.रोपवे सेवा संचालन गरेका थिए । पछि २०२१ सालमा यसको बिस्तार गरी मकवानपुरको हेटौंडा देखि काठमाण्डौको टेकुसम्म बिस्तार गरी ४५ कि.मि.को दुरीसम्म संचालन भएको थियो । यसले हेटौंडा देखि काठमाण्डौ सम्म ४ घण्टा १२ मिनेटमा सामान ल्याउने गर्दथ्यो र प्रतिघण्टा २२ टन सामान ढुवानी गर्दथ्यो । यो रोपवे २०५१ सालपछि बन्द भयो ।

नेपालमा २०५४ देखि मनकामना केबुलकार सेवा शुरु भएको हो ।त्यसपछि चन्द्रागिरी केबुलकार पनि संचालनमा रहेको छ भने पोखरामा अन्नपूर्ण केबुलकार, ताप्लेजुङ्गमा पाथीभरा केबुलकार, दोलखामा कालिञ्चोक केबुलकार निकट भविश्यमा संचालनमा आउने अवस्था रहेको छ ।हाल सञ्चालनमा रहेका र निकट भविश्यमा संचालन गर्न लागिएका केबुलकार पहाडी भू-भागको भू-दृश्यावलोकन र धार्मीक पर्यटनमा मद्दत पुग्ने देखिन्छ ।

तराई क्षेत्रको दृश्यावलोकन र वन, वन्यजन्तु र जैविक विविधतासंग रमाउन चाहने स्वदेशी तथा बिदेशी पर्यटकलाई चितवनमा केबुलकार निर्माण गरी सेवा प्रदान गर्नसकिने देखिन्छ । चितवनको देबघाटदेखि शुरु गरी नारायणी नदीतटीय क्षेत्र हुँदै चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने नारायणी र राप्ती नदीको किनारै किनार केबुल कार निमार्ण गरि संचालनमा ल्याउन सके वन वन्यजन्तु, नदी नाला, जैविक विविधताको साथै विकास गर्न सकिन्छ भने जगतपुरबाट माडीसम्म पनि जोड्ने हो भने माडीमा पनि  पर्यापर्यटन विकास गर्न सक्ने देखिन्छ ।

देबघाट देखि नारायणगढ, गुञ्जनगर दिव्यनगर, मेघौली हुंदै शुक्रनगर, जगतपुर र पटिहानी सम्म नारायणी र राप्ती नदीको किनारै किनार चितवन राष्ट्रिय निकुञ्ज र सो को मध्यवर्ती क्षेत्रको सिमाना निर्माण एवं संचालन गरेमा समग्रमा चितवनको प्रमुख स्थान अवलोकन गर्न सकिन्छ । कसरा नजिक रहेको जगतपुरको ध्रुवबाट माडीको बनकट्टासम्म करिब ५ कि.मि.निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको किनारै किनार विस्तार गर्ने र आवश्यक्ता अनुसार पटिहानीको बेलशरबाट सौराहा नजिक रहेको हात्तीप्रजनन केन्द्र हुदै सौराहासम्म करिव ११-१२ कि.मि. विस्तार गर्न पनि सकिने सम्भावना देखिन्छ ।

कानूनी प्रावधान

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तेस्रो संशोधन दफा ६(१) अनुसार राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको सर्वोपरि हितको निमित्त नेपाल सरकार स्वयं वा तोकिएको कार्यविधी अपनाई कसैसित करार गरि होटेल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्यसेवा वा सुविधा व्यवस्था गर्न सक्ने ब्यवस्था छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को परिच्छेद २ नियम (३)मा निकुञ्ज वा आरक्ष भित्र संचालन गरिने सेवा शिर्षकमा ऐनको दफा ६ बमोजिम कुनै सेवा सुविधा नेपाल सरकारले कसैबाट संचालन गराउन चाहेमा त्यस्तो सेवा सुविधा सम्वन्धी आवश्यक विवरण खोली त्यस्तो सेवा सुविधा के कस्तो शर्तमा  संचालन गर्न सक्ने हो सबै कुरा खुलाई सिल्ड टेण्डर दिनको निम्ती कम्तीमा पैंतिस दिनको म्याद तोकी प्रमुख पत्रपत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो टेण्डर पेश गर्नु पर्ने कार्यालय वा अधिकृत र टेण्डर खोल्ने समय तोक्नु पर्ने भन्ने ब्यवस्था गरेको छ ।

साथै मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को परिच्छेद ९ विविध नियम ३३ मध्यवर्ती क्षेत्रमा संचालन गरिने सेवा शिर्षकमा पनि ऐनको दफा ६ बमोजिम गर्ने व्यवस्था गरिएको छ भने नियम ३३ (४) सेवा सुविधा संचालन गर्ने सम्वन्धमा कुनै किसिमको निर्माण कार्य गर्नु पर्दा त्यसको विस्तृत आयोजना तयार गरि मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने भन्ने ब्यवस्था छ । माथि उल्लेखित ऐन नियम र नियमावलीमा यस किसिमको सेवा सुविधा संचालन गर्न मिल्ने र यसको लागि सरकारले तोकेको प्रकृया र मापदण्ड पूरा गर्नु पर्ने हुन्छ ।

 केबुलकार स्टेसन, सवस्टेसन रुट

Station: देवघाटदेखि पटिहानीको बेलशरसम्मको Circuit अन्तर्गत भरतपुर महांनगरका पर्यटनको सम्भावना भएका सवै वडाहरुमा Sub-station राखी पर्यटकहरु चढ्न र झर्न मिल्ने व्यवस्था गर्ने । यसरी Sub-station को व्यवस्था गर्दा मध्यवर्ती तर्फको क्षेत्रमा व्यवस्था मिलाउने । यसले गर्दा स्थानीय स्तरमा पर्यटकलाई देखाउन सकिने प्राकृतिक, धार्मिक र सांस्कृतिक स्थानहरुको विकास गर्न सकिने र सो स्थानमा होटेल, लज,रेष्टुरेन्ट र पर्यटनसं सम्वन्धित क्रियाकलाप गर्न सकिने हुन्छ । स्थान विशेष विभिन्न सम्भावना हुने भएकोले पर्यटकलाई बास बसाली अधिकतम सुविधा दिन र लिन पनि सकिने हुन्छ ।

नारायणी नदी र राप्ती नदीको किनारै किनार केबुल किन  ?

१. जमिनमा बस्ने वन्यजन्तुहरु पानी खान, नुहाउन, आहारबस्न २४ घण्टामा कम्तीमा पनि १-२ पटक नदी, खोला, तालघोल र पानीको मुहान भएको स्थानमा आउनै पर्दछ भने उभयचर, पानी र छेउछाउमा जीवन यापन गर्ने जीवजन्तु चरा चुरुङ्गी लगायत पानी भित्र रहने माछा गोही लगायतका सवै जीवहरु नदी र सो को आसपासमा रहने हुनाले सो क्षेत्रमा सवै प्रकारका वन्यजन्तुहरुको आवत जातव बढी हुने भएको देखिने सम्भावना पनि त्यति नै बढी रहन्छ । त्यसैले नदीलाई Key habitat को रुपमा मानिदैं आएको छ ।

२.नदीको किनारै किनार केबुलकारको निर्माण गर्दा खुल्ला हुने भएकोले टाढासम्म अवलोकल गर्न सकिन्छ ।

३.पर्यटकलाई वन्यजन्तुबाट हुने जोखिम मुक्त र घाम पानीबाट पनि सुरक्षित गराउन सकिने ।

४.केबुलकारको बाटोमा कुनै पनि प्रकारको फोहोर नहुने, प्रत्येक क्तबतष्यल र कगद कतबतष्यल मा फोहोरको राम्रो व्यवस्थापन मिलाउनु पर्ने हुन्छ ।

५.केबुलकारको पारदर्शी वन्द डिव्वामा बसेर यात्रा गरिने भएकोले  आवाज र हल्लाखल्ला नहुने ।

६. Focus light को व्यवस्था गरि रातको समयमा पनि संचालन गर्न सकिने ।

७.बीचबीचमा निकुञ्जका सुरक्षा कर्मीहरुको लागि छुट्टै विशेष डिव्वा राख्न सकिने । उक्त डिव्वामा सुरक्षाकर्मी मात्र रहने र Emergency परेमा उक्त डिव्वाबाटै डोरिको सहायताबाट जमिन झर्ने र जमिनबाट डिव्वामा आउन सकिने व्यवस्थाको बारेमा पनि सोच राखी विकास गर्न सकिने ।

८.निकुञ्जको किनारै किनार केबुल कार संचालन भएमा मानव वस्तीबाट चोरी शिकार र चोरी निकासीको लागि अबैध रुपमा निकुञ्ज प्रवेश गर्ने सवै नाकामा वारम्बार पर्यटक गतिविधी र सुरक्षा कर्मीहरुको गस्ती केबुलकारबाटै भई रहने हुनाले चोरी शिकार लगायत अबैध क्रियाकलाप नियन्त्रण हुन सक्ने अवसर ।

९. चितवनलाई वन,वन्यजन्तु, प्रकृतिमा आधारित बाहिय एवं आन्तरिक पर्यटकको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भने भरतपुर महांनगरका निकुञ्जसंग जोडिएका सवै वडाहरुमा समानुपातिक रुपमा पर्यटन विकास गर्न मद्दत पुग्दछ ।

१०. बाह्य र आन्तरिक पर्यटकको विकास भई दैनिक हजारौं पर्यटकलाई सेवा दिन सकिने ।

११.सरकार र निकुञ्जले शुल्क लिन सक्ने र स्थायी पर्यटन र आम्दानीको राम्रो श्रोत वन्ने ।

१२.विकास र सुविधाको हिसावले पिछडिएको भन्ने गरिएको चितवनको माडीमा जगतपुरको ध्रुवबाट बनकट्टा सम्म करिब ५ कि.मि.निकुञ्जको सुविधाप्राप्त बाटोको छेउछेउ केबुलकार संचालन गरेमा रातको समयमा अतिजरुरी हुनेहरुको लागि र बाहिरबाट पर्यटनको हिसावले निकुञ्ज भित्र केबुलकार चढेर माडी हेर्न आउनेहरुको लागि अवसार प्राप्त हुने र माडीको विकासमा टेवा पुग्न सक्दछ ।

१३ देवघाट हिन्दु संस्कृतिको पवित्र र मुख्य तिर्थ स्थल हो । धार्मिक पर्यटकलाई पनि केबुलकार संचालनबाट सहज र आकर्षक बनाउंदछ  भने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ ।

१४. आवश्यकता महसुस भएमा पटिहानीको बेलसर (सीतामाई) बाट करिव ११-१२ कि.मि. पूर्व राप्ती नदीको किनारै किनार पर्यटकीय नगरि सौराहासम्म पनि विस्तार गर्न सकिन्छ ।

१५.यो सेवा संचालन भएमा राजश्वमा कमी नहुने तर निकुञ्ज भित्र भ्रमण गर्ने पर्यटकको संख्या घटाउन सकिन्छ ।

१६.प्रत्येक डिव्वामा १-१ वटा तालिम प्राप्त गाईड राख्ने व्यवस्था गरेमा रोजगारी पनि सृजना हुन्छ भने प्रत्येक Sub-station मा चढ्ने झर्ने,बास वस्ने र त्यसको वरिपरि वन वन्यजन्तु, धार्मिक, सांस्कृतिक, पुरातात्विक सरचना एवं स्थानको विकास गरि समानुपातिक विकास एवं रोजगार श्रृजना र राज्यलाई समेत आम्दानीको श्रोत वन्न सक्दछ ।

अपनाउनु पर्ने विधि प्रक्रिया, सावधानी र हुनसक्ने केही जोखिम

१.चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पादा सूचीमा सूचीकृत भएकोले नेपाल सरकारको अनुमतिले मात्र नपुग्ने भएकोले नेपाल सरकारको सकारात्मक रिपोर्ट भएमा त्यसको असरलाई अध्ययन गरि युनेस्कोले अनुमति दिन सक्ने । यसको लागि केही समय र कुरा बुझाउने धैर्यताको आवश्यकता ।

२.पर्यटकको संख्या ठुलो संख्यामा हुन लागेमा मध्यवर्ती क्षेत्रमा केही म्ष्कतगचदबलअभ र संरचना हरुको पनि बृद्धि गर्नु पर्ने हुन्छ ।

३.परम्परागत धार्मिक सांस्कृतिक कार्यमा परिवर्तन हुने सम्भावना ।

४.निर्माण अवधिमा वन वन्यजन्तुमा थोरै भए पनि असर पर्न सक्ने सम्भावना ।

५.केबुलकार नदीको छेउछेउ निर्माण गर्ने भएकोले असाध्यै ठुलो बाढी आउंदा पिल्लरलाई क्षति पुर्याउन सक्ने सम्भावना रहन्छ ।

६.बाढीले नबगाउने र वन्यजन्तुले नछुने र नविगार्ने गरि बनाउनु पर्ने र सो को मुनि पर्ने झाडी बुट्यानहरु र विरुवाहरु समय समयमा सफा गर्नु पर्ने हुन्छ ।

७. संरक्षणकर्मीहरुले निकुञ्जको सिमानामा केबुलकार संरक्षणको मर्म विपरीतको कार्य हो भन्न सक्दछन तर यस विधीबाट केबुलकार संचालन गर्दा राज्य स्थानीय जनता र संरक्षण एवं निकुञ्जको पनि हितमा नै हुने भएकोले सबल पक्ष र कमजोर पक्षलाई राम्ररी केलाएर प्रतिक्रिया दिनको लागि आग्रह गर्दछु ।

८.अहिले मध्यवर्ती क्षेत्रमा संचालित पर्यटकीय होटेलहरुले आफ्ना होटेललाई यसको प्रत्यक्ष असर पर्न सक्ने भनि विरोध आउन सक्दछ । यस कार्यले उनीहरुको व्यवसायलाई अझ थप टेवा पुरयाउदछ ।

९.केबुलकारका सम्पूर्ण सामाग्रीहरु र क्रियाकलाप वातावरण मैत्री बनाउनु नै पर्ने हुन्छ । (टीकाराम पौडेल चितवन राष्ट्रिय निकुञ्जका सेवानिबृत्त सहायक संरक्षण अधिकृत एवं स्थानीय वासिन्दा हुन)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय