एकैदिन ३ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

बर्दिया, असोज २२ (फरकसमाचार) / बर्दियाका ३ जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेमा बिहिबार राति मृत्यु भएको छ । राजापुर नगरपालिकाका २ जना र बारबर्दिया नगरपालिकाका १ जनाका भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १६ पुगेको छ ।

राजापुर नगरपालिका–८ का ३५ वर्षिय पुुरुषको मृत्यु भएको छ । उपचारका क्रममा उनको बिहीबार राती ९ बजे मृत्यु भएको हो । उनमा असोज ४ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आउँदा उनलाई अर्को दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

राजापुर नगरपालिका–४ की ५२ वर्षिय महिलाको मृत्यु भएको छ । उनमा असोज ८ गते कोरोना पुष्टि भएको हो । त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यसैगरी बारबर्दिया नगरपालिका–११ की ४२ वर्षिय महिलाको मृत्यु भएको छ । उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार ५ घण्टाको अन्तरालमा चार जनाको मृत्यु भएको हो ।
शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ३ सय ३६ पुगेको छ । त्यसैगरी शुक्रबार १६ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार २६ पुगेको छ । ९५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ९४ होम आईसोलेसनमा र १ जना अस्पतालमा उपचाररत रहेका छन् ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ३५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय १६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर