महँगो बन्दै दसैं हराउँदै संस्कृति
शनिबार, असोज २३, २०७८ मा प्रकाशित

सनातन हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैं घरआगनमा भित्रिइसकेको छ। चाडपर्व भित्रिएसँगै दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको किनमेल गर्नेको समेत बजारमा घुइँचो लाग्न थालेको छ।

राम्रो लगाउने र मिठो खाने यस पर्वका लागि किनमेल गर्नेको अहिले काठमाडौं उपत्यकाका अधिंकाश व्यापारिक क्षेत्रमा भिड देख्न सकिन्छ। कोरोनाका कारण लामो समय ठप्प रहेको बजारमा दसैंको रौनक बढे पनि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि चाडपर्व मनाउन मुस्किल हुन थालेको सर्वसाधारणको गुनासो छ।

अहिले बजारमा नुनदेखि सुनसम्ममा महँगी थपिँदै गएको उपभोक्ताहरूले बताएका छन्। कोरोना महामारीले आर्थिक अभाव व्यहोर्दै आएका सर्वसाधारणले चाडपर्व भित्रिएसँगै लुगा, खाद्यसामग्री, मासु, तरकारी, फलफूल, मसलालगायत वस्तुको व्यापारीले मनपरी मूल्य निर्धारण गरेको गुनासो गरेका छन्।

बजार अनुगमन प्रभावकारी नहुँदा अचाक्ली महँगी बढेको उपभोक्ताको गुनासो छ। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो महिनाकै तथ्यांकले तरकारी, तेल, गेडागुडीको मूल्य बढेकोे देखाएको छ।

चार्डपर्वको मौका छोप्दै व्यापारीले अत्यावश्यक बस्तुमा मूल्य बढाएको रातोपुल बस्ने सुवास थापाले बताए। ‘महँगी सारै बढ्यो, दैनिक उपभोग्य बस्तुको मूल्य छोइनसक्नु छ,’ उनले भने, ‘कोरोनाका कारण रोजीरोटी नै धौधौ परेको बेला गरिबलाई दसैंसँगै दशासमेत भित्रिएको छ।’

दैनिक भान्सामा उपभोग्य वस्तुको समान मूल्य हुनुपर्ने भए पनि पसलैपिच्छे फरक मूल्य हुँदा सर्वसाधारण थोक तथा खुद्रा व्यापारीबाटसमेत ठगिन थालेको उनले बताए।‘हरियो साग, तरकारी, फलफूलसम्म, चामल, खानेतेल, नुन, चिनी, मरमसलालगायत वस्तुको मूल्यमा व्यापारी अनुहार हेरेर मूल्य निर्धारण गर्छन्, अरू के कुरा गर्नु,’ उनले भने। चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर व्यापारीले मौकाको फाइदा उठाउन खोजेको उनको दाबी छ।

थापा त केवल प्रतिनिधि पात्र मात्रै हुन्। अहिले बजारबाट किनमेल गरेर फर्किएकाहरूको प्रायः सबैको एउटै जवाफ रहेको देखिन्छ, ‘अचाक्ली महँगी छ, भान्सा धान्न धौधौ भयो।’

यस्तै, सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएकी दिलमाया तामाङ पनि महँगीका कारण आजित छिन्। तामाङ भन्छिन्, ‘काठमाडौं आएको १५ वर्ष भयो। अहिलेको जस्तो महँगी यसअघि महसुस गरेकी थिइनँ।’ कोरोनाकै कारण आर्थिक अभाव झेलिरहेकी उनी यसपटक सडकपेटीमै पाइने लुगा रोजेको बताउँछिन्। ‘एक त पैसाको अभाव त्यसमाथि त्यस्तै देखिने कपडा बेच्ने फेन्सी पसलवालाको महँगाई,’ उनले भनिन्, ‘आम्दानी उही, खर्च मात्रै बढ्दै जाने हो भने त न्यून आय भएकाहरूले कसरी चाडपर्व मनाउने ?’

बच्चाका लुगाको मूल्य अत्यधिक बढेको गुनासो गर्दै उनले थपिन्, ‘चाडपर्व कसरी मनाउने ? महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउने अवस्था छैन। एक मुठा सागको एक सयभन्दा बढी पर्छ। सर्वसाधारणले कसरी मासु खाने ? चिन्ता बढ्न थालेको छ।’

पछिल्लो समय चामल, दाल, तरकारी, माछामासु, विद्युतीय सामग्रीदेखि लत्ताकपडा र सेवा क्षेत्रमा समेत उपभोक्ता ठगिन थालेको दैलेखका रोशन खड्का बताउँछन्। काठमाडौंमा व्यवसाय गर्दै आएका उनले बजारमा वस्तु र सेवाको मनोमानी मूल्यवृद्धि हुँदा र सामानको मूल्यमा एकरूपता नहुँदा पनि सरकार निरीह जस्तै बनेर बसेको उनको गुनासो छ।

व्यापारीहरूलाई खरिद मूल्यमा २० प्रतिशतसम्म नाफा राखी विक्री गर्न पाउने अधिकार भए पनि मनलाग्दो नाफा खाने गरेको उनले बताए। चाडपर्वको मौसममा अत्यधिक खपत हुने वस्तुको मूल्यमा सबैभन्दा बढी अराजकता हुने गरेको उनको भनाइ छ।

‘शासन व्यवस्था फेरिएपछि त हामीले त्यही अनुसार सुविधा भोग गर्न पाउनुपर्ने हो तर खै ?’ उनले भने, ‘चाडपर्व चाडपर्व जस्ता रहेनन्, जताततै खपिनसक्नुको महँगी छाएको छ।’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरेर निरन्तर अनुगमन गर्दै आएको सुने पनि त्यसको अनुभूति सर्वसाधारणले गर्न नपाएको उनले बताए।

‘चाडपर्वमा बढी कारोबार हुने जुत्ता, कपडा, फर्निचर तथा सजावटका सामानमा समेत मूल्यको कुनै निश्चितता छैन। सरकार भने नुनतेल, मैदा र मसलामा मूल्य तोक्दै बसेर हुन्छ ?’ उनले भने ।

नेपाल खुद्रा व्यापार संघका अनुसार मैदा, सुजी, आँटा र जिराको केही मूल्य घटे पनि हरेक दिन भान्सामा प्रयोगमा आउने खाने तेल र वनस्पति घिउको मूल्य प्रतिलिटर ९० रूपैयाँसम्मले बढेको देखिन्छ।

पछिल्लो वर्षको तथ्यांकअनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि खाने तेलमा भएको छ। यो वर्ष भटमास र सूर्यमुखी तेलमा प्रतिलिटर ९० रूपैयाँले बढेको छ भने भुटेको तोरी र डाल्डा घिउमा ८५, काँचो तोरीको तेलमा ८० रूपैयाँ मूल्य बढेको छ। केराउमा ३०, मेथी र राज्मामा ४० र मस्यौरामा ८० रूपैयाँले बढेको छ।

हाल भुटेको तोरीको तेल मूल्य ३ सय ६०, काँचो तोरीको तेल २ सय ६०, भटमासको तेल २ सय ४०, सूर्यमुखी तेल २ सय ५०, डाल्टा घिउ २ सय ३० र नेपाली घिउ नौ सय रूपैयाँ कायम छ। त्यस्तै, मास, मसुरो, रहर र चनाको दाल, ताइचिन चिउरा र चिनीमा १०, तेसो केराउ, बोडीमा ३० रूपैयाँ बढेको देखिन्छ। मैदामा १०, कोदो, आँटा र सुजीमा पाँच, जिराको मूल्य भने ५ देखि ४० रूपैयाँसम्मले घटेको संघले देखाएको छ।

त्यसो त खाद्यवस्तुको मात्रै मूल्य बढेर भान्सा महँगिएको भने होइन। यो वर्ष चाडर्व भित्रिएसँगै हरियो साग तथा तरकारीको मूल्यसमेत छोइनसक्नु छ। व्यापारीले विभिन्न बहानामा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य रातारात बढाएका छन्।

कोरोना महामारीबिच गत वर्ष दालमा १५, चिनीमा १७, आलुमा ४०, चामल प्रतिकिलो दुई रूपैयाँले बढेको थियो। खाद्यवस्तुको मात्रै होइन, पछिल्ला केही हप्तामा तरकारी तथा फलफूलको मूल्यसमेत बढेको तथ्यांकले देखाएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक उपभोग हुने तरकारीको भाउ बढ्दै गएको छ।

अहिले बजारमा रायो, मेथी, चमसुर, हरियो प्याज, पालुंगो, ब्रो काउली, हरियो खुर्सानी, गाजर, गोलभेँडा, राजमा, च्याउ, बोडीलगायत साग तथा तरकारीको मूल्य धेरै छ। धेरै मूल्य बढ्ने तरकारीमा तितेकरेला, तनेबोडी, भिन्डी, चिचिन्डो र लौका पनि रहेका छन्। त्यस्तै, अनार, किबी, सुन्तलालगायत फलफूलको मूल्यसमेत बढ्दै गएको छ।

सबै तरकारीको आपूर्ति एकनासको नहुँदा तथा नयाँ तरकारी उत्पादन हुने बेला भइनसकेकाले तरकारीको मूल्य अस्वाभाविक बढ्न पुगेको व्यापारी बताउँछन्। त्यस्तै, तेल उत्पादक सघंलेसमेत कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा दोब्बरले वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको स्पष्ट पारेको छ।

पछिल्लो समय प्रतिमेट्रिक टन २ सयदेखि २ सय ४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको र उक्त असर नेपालमा पनि परेकोे संघको दाबी छ।

सरकारले चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको दाबी गरेको छ। चाडपर्वको मौका छोपेर व्यापारीले ग्राहकलाई नठगून् र बिक्री गरिएका सामग्रीको गुणस्तर कायम होस् भन्ने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनमा खटिइरहेको बताउँछ। तर, दसैंलक्षित बजारमा अखाद्य वस्तु, म्याद गुज्रिएका वस्तु, उत्पादन मिति नभएका तथा मूल्य निर्धारण नगरिएका वस्तु तथा विदेशबाट आयात गरिएका समानको मूल्यमा पनि उपभोक्ता ठगिने गरेको जनगुनासो भेटिएका छन्। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर