मृतक पछुवाको परिवारलाई ३० लाख भन्दा बढी सहयोग
सोमबार, असोज २५, २०७८ मा प्रकाशित

बर्दिया, असोज २५ (फरकसमाचार)

बाघको आक्रमणबाट मृत्यु भएको पछुवा पुलिसराम थारुको परिवारलाई निकुञ्ज मार्फत हालसम्म ३० लाख ४३ हजार २ सय ३४ रुपैयाँ उपलव्ध गराएको छ । ठाकुरबाबा नगरपालिका–९ का पछुवा पुलिसराम थारु बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिसारमा कार्यरत थिए । ०७७ साल चैत २२ गते राष्ट्रिय गैंडा गणनामा थारु खटिएका थिए ।

गैंडा गणनामा खटिएका थारुलाई बाघले आक्रमण गरी मारेको थियो ।
जोखिम मोलेर निकुञ्जमा काम गर्ने कर्मचारीको बर्दिया राष्ट्रिय निकुञ्जले बिमा गराएको थियो । मृतक थारुको नेको इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको थियो ।

आइतबार निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले मृतकका परिवारलाई रु ७ लाख ७८ हजार २ सय ३४ उपलब्ध गराएका छन् । जसमा रु ५ लाख बिमा वापत र निकुञ्जमा कार्यरत २ सय ४ जना कर्मचारीको २ दिनको तलब कट्टा गरि रु २ लाख ७८ हजार २ सय ३४ उपलब्ध गराएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै गरी निकुञ्जले यस अघि मृतकको परिवारलाई कार्यालयबाट मृत्यु भए लगत्तै किरिया खर्च वापत रु. ५० हजार र राहत स्वरुप रु १० लाख दिएको थियो । निकुञ्जले मृतकका अध्ययनरत २ छोरीलाई ४० हजार छात्रवृत्ती उपलब्ध गराएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग र संरक्षण साझेदार संस्थाहरुबाट रु १ लाख ७५ हजार राहत सहयोग गरिएको थियो । त्यसैगरी निकुञ्जमा कार्यरत ३२ जना करार कर्मचारीहरुको शिखर इन्स्योरेन्समा सामुहिक दुर्घटना बिमा गरिएको थियो । सो बिमा वापत मृतक परिवारलाई रु १० लाख दिएको थियो । हालसम्म मृतक थारुको परिवारलाई निकुञ्ज मार्फत जम्मा रु ३० लाख ४३ हजार २ सय ३४ उपलब्ध गराएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय