के थियो चार जनाको ज्यान गएको रूपन्देही प्रकरण ?
सोमबार, असोज २५, २०७८ मा प्रकाशित

बुटवल, असोज २५ / रूपन्देहीको सुद्धोधन मानपकडीका रामनगिन चौधरीको मानपकडीमै ६ कट्ठा खेत र घर छ।

खेतमा उनी तरकारी खेती गर्छन्। आफ्नै खेतबारीमा उत्पादन भएको र छिमेकका अरू किसानले उत्पादन गरेको तरकारी लिएर उनी दिनहुँजसो बुटवलका विभिन्न बजारमा आउने गर्छन्।

तर, पछिल्लो केही समयदेखि भने उनी जग्गा पाइन्छ भन्दै मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा घेरा हालेर बस्न थालेका थिए। दिनहुँजसो तरकारी बिक्री गर्न आउँदा मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कुरेर बसे लालपूर्जा पाइने भन्दै यतै लागेका थिए।

पाल्पा तिनाउका रामबहादुर घर्ती पनि बिहान सबेरै बुटवल आउने र साँझ घर फर्किने गर्न थालेको तीन साता भइसक्यो। उनीसँगै गाउँका १५/२० जना अरू युवाको पनि मोतिपुरमा सुकुम्बासीको लागि जग्गा खुलेको छ भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बस्ने दैनिकी बनिरहेको थियो।

कपिलवस्तुको वाणगंगाकी सकुन्तला जिसी पनि १५/२० जनाको समूह बनाएर दिनहुँ मोतिपुर आउन थालेको एक महिना बढी भइसकेको थियो। रामनगिन, रामबहादुर र सकुन्तला प्रतिनिधि पात्र मात्र थिए।

गत वैशाखयता बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रभित्र जग्गा कब्जा गरी बस्न बुटवल आसपास मात्र होइन पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रोल्पासँगै मकवानपुर र कञ्चनपुरबाट समेत दैनिक मानिसहरू आउन थालेका थिए।

२०७२ साल चैत १ गते नेपाल सरकारले रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गर्‍यो। धेरैजसो बुटवल उपमहानगरपालिकाको वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको र तिनाउको नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो।

औद्योगिक क्षेत्रको विस्तार हुन नसक्दा नयाँ उद्योगहरू सञ्चालन गर्न नसकिएको उद्योगीहरूको गुनासोलाई सम्बोधन गर्न सरकारले औद्योगिक क्षेत्रको घोषणा गरेको थियो। ५ वर्षभित्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको उक्त निर्णयमा सबै राजनितिक दलहरूले पनि सहमति गरेका थिए।

तर ५ वर्षमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्र ६ वर्ष पुग्दा पनि स्थापना हुने त कता हो कता, औद्योगिक क्षेत्रको लागि छुट्याइएको जग्गामा नै सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको छ।

सरकारले १२ अर्ब भन्दाबढीको लागतमा मोतिपुरको ९ सय ४६ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने बताएको थियो अहिले दुई सय बिगाहा भन्दाबढी जग्गामा विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले कब्जा गर्ने प्रयास गरिरहेका छन्।

पाल्पाको रिब्दिकोटका भीमबहादुर सार्कीलाई मोतिपुरमा सुकुम्बासी खुलेको छ भनी बुटवलमा बस्दै आएका ताराबहादुर सार्कीले बोलाएका थिए।

ताराबहादुर आफूले पनि विगतमा बुद्धनगरमा जग्गा कुरेरै पाएकोले भीमबहादुरलाई पनि बोलाएका थिए। भीमबहादुर जग्गा कब्जा गर्नेहरू र प्रहरी प्रशासनका बीचमा आइतबार भएको झडपमा घाइते भएका छन्।

उनले आफूले विगत २५ दिनदेखि जग्गा कुरेर बस्दै आएको बताए। उनले जग्गा कुर्नकै लागि बुटवलमा कोठा भाडा लिएर बसेका छन्। दिनभरि औद्योगिक क्षेत्रको जग्गामा घेरा तानी दुई चार वटा बाँस र त्रिपाल टाँगेर बस्ने उनी साँझ परेपछि भने कोठामा जाने गर्थे।

वैशाख पहिलो सातादेखि नै औद्योगिक क्षेत्रको जग्गामा कब्जा गरी छाप्रा हाल्न सुरू गरे पनि उतिबेला प्रहरीले चार सय भन्दाबढी छाप्राहरूमा आगो लगाएर कब्जा गरेकाहरूलाई लखेटेको थियो। तर पछिल्लो समय जग्गा कब्जा गर्ने क्रम व्यापक भएको छ।

यही जग्गा कब्जा गर्न रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, दाङ, बाँके लगायत देशका अधिकांश जिल्लाबाट सुकुम्बासीको नाममा सर्वसाधारण आउने गरेका छन्। स्थानीय अर्जुन गिरीले दिउँसोको समयमा ४ हजार भन्दाबढी व्यक्तिहरू सुकुम्बासीको नाममा गाडी रिजर्ब गरेरै आउने र साँझ गाडीमै फर्किने गरेको बताए।

‘दिउँसोमा त यहाँ मेला लागेजस्तो हुन्थ्यो, घटस्थापनाको दिन त सबैबाट सहयोग रकम संकलन गरी दुर्गा मन्दिर स्थापना गर्ने र पूजाआजा गरिएको थियो,’ उनले भने।

आइतबार पनि बिहानैदेखि सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रभित्र जाने क्रम सुरू भएको थियो। नजिक घर भएका, टाढाको जिल्लाबाट आई कोठा भाडा लिएर बसेकाहरू बिहानैदेखि औद्योगिक क्षेत्रको जग्गामा घेरा हालेर बस्न थालेका थिए। रुपन्देही र आसपासका जिल्लाहरुबाट भने गाडी रिजर्ब गर्ने र अटो रिक्सा चढेर जानेहरु १०/११ बजेसम्म पुग्दै थिए।

स्थानीय प्रशासन पनि आईतवार जग्गा कब्जा गरेर बसेकाहरुलाई लखेट्ने योजनामा विहानैदेखि तयारी अवस्थामा थियो। सोहि क्रममा प्रहरीले औद्योगिक क्षेत्रबाट बाहिर निकाल्न खोजेपछि जग्गा कब्जा गरि बसेकाहरु प्रहरीमाथी ढुंगामुढामा उत्रिएका थिए।

त्यहां आएकाहरु अधिकांशले अन्यत्र घर जग्गा भएपनि केहि समय कुरेर बस्दैमा बुटवलमा जग्गा पाईन्छ भने किन नबस्ने भनेर आएको बताए। मानपकडीका रामनगिन चौधरीले बुटवलमा जग्गा पाईन्छ भने केहि दिन कुर्दैमा के हुन्छ र भनेर कुरेको बताए।

यहां जग्गा कब्जा गर्न आएकाहरुले पछि लालपूर्जा पाउने र जग्गा आफ्नो हुने लोभमा आएको बताउंछन्। रोल्पाको सुनछहरीबाट आएका प्रकाश घर्तिले प्रशासनलाई जित्न सके सबैलाई घडेरी वितरण हुन्छ भनेर आएको बताए। जग्गा पाईन्छ भनेर आशा गरेपनि आफुहरुलाई कसले परिचालित गरेको छ भन्ने कुरा भने उनीहरू कसैले बताउन चाहँदैनन्।

पाँच दिन पहिले मकवानपुरबाट रात्रि बस चढेर जग्गा रोक्नकै लागि यमकुमारी थापाले बुटवलमा जग्गा बाँड्दैछ भन्ने खबर सुनेर आएको बताइन्।

मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरेपछि विवादमा पर्दै आएको छ। सुरू वर्षमा राजनीतिक दलहरू कसले जस लिने भन्नेमै अन्योल भएकोमा गत फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री लेखराज भट्टले शिलान्यास गर्दा पनि कार्यक्रम बिथोलिएको थियो।

उतिबेला सरकार भन्दाबाहिर रहेका यसक्षेत्रका सांसद एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एमालेका नेता घनश्याम भुसालले विज्ञप्ति निकालेर स्थानीयवाशीको सहमति विपरीत औद्योगिक क्षेत्र विस्तार नगर्न चेतावनी समेत दिएका थिए।

अहिले समय फेरिएको छ। पहिले प्रतिपक्षमा रहेका खाँण सरकारका गृहमन्त्री बनेका छन्। तर देशका विभिन्न जिल्लाबाट आएका सुकुम्बासीले आफ्नै गृहनगरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रयास गरिरहेका छन्।

स्थानीयका अनुसार रुपन्देहीका बुटवल आसपास मात्र नभई कपिलवस्तु, नवलपरासी, रोल्पा लगायत अधिकांश जिल्लाहरूबाट २५ देखि ३० जनाको समूह बनाएर क्षेत्रमसते छुट्याई जग्गा कब्जा गर्ने गरिएको छ।

दिनहुँजसो गाडी रिजर्ब गरेर आउने र साँझ फर्किने क्रम गत बैशाखदेखि नै जारी रहे पनि स्थानीय प्रशासनले सुरूमै चासो नदिँदा जग्गा कब्जा गर्नेहरूलाई बल पुगेको स्थानीयको भनाइ छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय