मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त
बुधबार, असोज २७, २०७८ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले  मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार विहान प्रेस नोट जारी गर्दै उपराष्ट्रपति पुनले ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

‘नेपालीहरुको महान् चाड दसैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीको दसैँको फुलपातिको दिन दुर्घटनामा निधन भएको र दसैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा सम्माननीय उपराष्ट्रपतिज्यू स्तब्ध हुनुहुन्छ,’ उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

उपराष्ट्रपति पुनले दुवै दुर्घटनामा निधन भ​एकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानविन गरी सो छानविन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय