यही नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुन्छ : नेता सिंह
बुधबार, असोज २७, २०७८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाअधिवेशनपछि पनि कांग्रेसमा वर्तमान नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले अहिलेको नेतृत्व आगामी महाअधिवेशनपछि पनि कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका हुन्।

नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीले कांग्रेस पार्टी र पार्टीको संगठन असाध्यै कमजोर भएको आरोप लगाएका छन्। ‘नेतृत्वको कार्यशैलीका कारण १३ औं महाअधिवेशनपछि कांग्रेस असाध्यै कमजोर भएको छ’, उनले भने,‘आगामी महाअधिवशनपछि पनि कार्यकर्ता र जनताले चाहे अनुसारको नेतृत्व छान्न नसकी यहि नेतृत्व कायम राखे कांग्रेस प्रजापरिषद्मा परिणत नहोला भन्न सकिंदैन।’

नेता सिंहले सभापतिले पार्टीमा बहुमत छ भन्दै विधिविधान मिच्ने काम गरेका कारण कांग्रेस कमजोर भएको बताए। कांग्रेस कमजोर भएका कारण कम्युनिष्टहरूले संविधानलाई नै कमजोर पार्ने प्रयास गरेको सिंहको आरोप छ। सिंहले संविधानको संरक्षण गर्न, संस्थागत गर्न र कार्यान्वयन गर्न नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले पहिले कांग्रेस पार्टीलाई नै ठीक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए।

लोकतन्त्र र पार्टी संगठन विस्तारमा गरेको योगदानका आधारमा अबको नेतृत्व परिवर्तन गर्नुपर्ने उनको भनाई छ। सिंहले अहिलेको नेतृत्वलाई बिस्थापित गर्न संस्थापन इतका नेताहरूले साझा उम्मेद्वार बनाएर महाअधिवेशनमा जाने तयारी भइरहेको बताए। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय