बैंक लुटेरा समूहका तीन जना पक्राउ, २१ लाख लुटियो
बिहिबार, असोज २८, २०७८ मा प्रकाशित

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन्।

सोमबार बैंकमा लुटपाट गर्ने समूहका मध्ये ३ जनालाई त्यही दिन प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा लुटपाटको मुख्य योजनाकार विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्ला सेखापुर–५ का २८ वर्षीय सुनील यादव र अररियाकै गोराहा–४ का ३० वर्षीय विजय सहनी छन्।

मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीका अनुसार बैंक लुटेर भाग्ने क्रममा सीमा क्षेत्रबाट ३ जना पक्राउ परे पनि अन्य भाग्न सफल भए। ‘सीमा क्षेत्रअन्तर्गत धनपालथान–२ स्थित खयरवनाबाट उनीहरुलाई एक थान पेस्तोलसहित पक्राउ गरेका छौं,’ एसपी जिसीले भने, ‘बैंक लुटेर को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरेका हौं। पक्राउ गर्ने क्रममा एक भारतीयको तिघ्रामा गोली लागेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ९ जनाको समूहले बैंक लुटपाट गरेको खुलेको छ। सात जना बैंकभित्र पसेको १ जना गेटमा बसेर बाहिरको अवस्था हेर्ने र अर्का एक व्यक्ति संलग्न भए पनि उ त्यहाँ नदेखिएको एसपी जिसीले बताए। ७ जनाको समूह एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा सुरक्षागार्ड रंगेली–२ का ४० वर्षीय शीतल कुमालका साथमा रहेको खुकुरी खोसेका थिए। सुरक्षागार्ड कुमालले प्रतिकारका क्रममा पेस्तोल निकाली ताक्दै नियन्त्रणमा लिन खोज्दा अर्का हतियारीधारी व्यक्तिले पछाडिबाट गोली प्रहार गरी घाइते बनाएका थिए। घाइते भएका सुरक्षागार्डको पछाडि पट्टि दाहिने पातामा २ गोली लागेको थियो।

कुमालको विराटनगरस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरी ९ एमएमको एउटा गोली निकालिएको छ। अर्को प्वाल मात्रै रहेको र त्यहाँ गोली नभएको प्रहरीले जनाएको छ। घाइते सुरक्षागार्डको अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ। २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि बैंकले आधिकारी रुपमा ठ्याक्कै लुटपाट भएको रकमबारे जानकारी नदिएको एसपी जिसीले बताए। बैंकले सबै हिसाब मिलान गरेपछि मात्रै यकिन रकम खुल्ने बताइएको छ।

फरार भएका लुटेरा समूह भारतीय भएको र उनीहरुको भारतीय प्रहरीसँगको समन्वयमा खोजी भइरहेको जानकारी दिइएको छ। एसपी जिसीका अनुसार मुख्य योजनाकार भनिएका श्याम मुखियाले विराटनगरमा होजियारी (तयारी पोसाक)उद्योग सञ्चालन गर्दै आएका हुन्। लुटेरा समूहका केही व्यक्ति मुखियाका आफन्त नाता पर्ने देखिन्छ। यो समूहले १५/१६ दिनदेखि बैंक लुट्ने योजनाका साथ बैंकको तल्लो तलामा रहेको चिया पसलमा आउने र सबै कुराको चियोचासो गरी सूचना संकलन गर्दै आएका थिए।

प्रायः प्रहरीको भेन बैंक आसपासमा बस्दै आए पनि बैंक लुटपाट भएको समयमा दादरवैरियामा कुटपिट भएको खबर आएपछि भेन गएको थियो। त्यही मौका छोपेर लुटेरा समूहले बैंकमा लुटपाट गरेको एसपी जिसीले बताए। पक्राउ परेकालाई डकैती, हातहतियार खरखजना, संगठित अपराध र ज्यान मार्ने उद्योग गरी ४ वटा मुद्दा चलाउन थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय