शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव
सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित

बाँके, कात्तिक १ / नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन्। कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा (छोरा) निकालिएको थियो। शल्यक्रियापश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन्।

सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेशबहादुर धामीले बताए।

प्रसव पीडाले सताएपछि कमलाका श्रीमान् र जेठाजुले सुरुमा असोज २७ गते कैलालीस्थित सेती अस्पतताल धनगढी पुर्‍याएका थिए। त्यहाँको अस्पतालले शिक्षण अस्पताल कोहलपुरमै रेफर गरेपछि असोज २८ गते बिहान ३ बजेतिर ल्याएर भर्ना गरेका थिए।

डाक्टरसँगको सल्लाह, परामर्शअनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो। ‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मियो, बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा ल्याएर सारियो,’ जेठाजु रमेशले नागरिकसँग भने, ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस् भइन्, हामी अत्तालियौं, डाक्टरलाई खोज्यौं, बल्लतल्ल राति १० बजे मात्र नर्सले आइसियुमा राखे।’

रमेशका अनुसार अप्रेशनपश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन्। आफूहरूले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भए पनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको उनको आरोप छ। आइसियुमा भर्ना भएकी बुहारीको होस नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफूहरूलाई अस्पतालले जानकारी नदिएको रमेशले बताए।

‘बेहोस  के कारणले भएको हो, मृत्यु किन भयो ?’ भन्ने प्रश्न डाक्टर र नर्ससँग बारम्बार राख्दा पनि एकिन जवाफ पाउन नसकेको उनले सुनाए। ‘कहिले ब्लडमा इन्फेक्सन, कहिले मुटुले काम गरेन, कहिले सुगर समस्या जस्ता बहाना बनाएर डाक्टर पन्छिने काम गर्दैछन्, अस्पतालले यसको सत्यतथ्य कुरा बाहिर नल्याउँदासम्म र यसको छानविन नहुँदासम्म हामी शव बुझ्दैनौं,’ उनले भने।

कमलाको मृत्यु भएपछि उनका श्रीमान् बेहोस भएको रमेशले सुनाए। अस्पतालले अटेरी गरेमा आफूहरू कानुनी प्रक्रियामा समेत जान बाध्य हुने उनको चेतावनी छ। आमाको मृत्यु भएपछि जुम्ल्याहा बच्चाको हेरचाहमा समस्या आउने आफन्तको चिन्ता छ। सुत्केरीलाई आइसियुमा भर्ना गरेको दुई दिनभन्दा बढी समय भइसक्दा पनि अस्पतालले मृत्युबारे लिखित रूपमा जानकारी दिन नसकेको र अहिले पनि कृत्रिम श्वास दिइरहेको आफन्तले बताएका छन्। तर, डाक्टर स्वयंले मृत्यु भइसक्यो भन्ने जवाफ दिइसकेको रमेशले सुनाए।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफूले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताए। ‘अप्रेशन गरेर जुम्ल्याहा बच्चा निकालिएको रहेछ। पछि सुत्केरीको स्वास्थ्यमा ब्लड प्रेसर लगायत विभिन्न समस्या देखियो र तत्कालै आइसियुमा राखेर उपचार गर्दा पनि बचाउन सम्भव नभएको कुरा सुनेको छु, विस्तृत कुरा बुझ्दैछु,’ उनले भने।नागरिकन्यूजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय