धान खेतमै कुहिदा किसानको छटपटी
मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २  (फरकसमाचार)

आइतबार देखि लगातार भएको वर्षातले खेतमै धान कुहिन थालेको छ । किसानले मेहनत गरेर फलाएको धान वर्षातले गर्दा खेतमै कुहिने अवस्थामा पुगेको हो । भित्राउन तयारी अवस्थामा रहेको धान बाली किसानले काटेर खेतमा राखेको थिए । घाम लाग्दा लाग्दै आइतबार भएको वर्षातले धान बाली नष्ट बनाएको किसानहरुको गुनासो छ ।

पाकेको धान काटेर बोक्न बाँकी रहेको धान वर्षातले खेतमै उम्रिन थालेपछि किसान चिन्तित भएका छन् । वर्षात हुँदा खेतमा पानी भरिएको छ । काटेको धान उठाएर अन्तै लैजाने ठाउँ नहुँदा किसान झन् चिन्तित बनेका छन् । काटेको धान पानीमा डुब्दा उठाएर ढिक र अग्लो स्थानमा राखेका छन् ।

किसान तथा जसपाका युवा नेता विष्णु यादवले किसानको लागि सरकारले राहतको प्याकेज ल्याउन माग गरेका छन् । यस क्षेत्रमा वर्षातले धानबालीमा पु¥याएको क्षति सम्बन्धित निकायले अनुगमन गरेर समस्यामा परेका किसानको लागि राहत प्याकेजको व्यवस्था गर्न तीनै तहका सरकारसंग आग्रह गरेका छन् ।

युवा नेता यादवका अनुसार गुलरिया नगरपालिका–११ मा सिचाईको व्यवस्था छैन । ६ सय पर्ने धानको बिउँ ल्याएर लगाएको उनले सुनाए । सिचाईको सुविधा नहुँदा डिजेल लिटरको १ सय २० मा ल्याई सिचाई गरेको बताए । तयार भएको धान वर्षातले छिनभरमै नष्ट भएको उनले दुख व्यक्त गरे ।

किसानको धान खेतमा कुहिन लाग्दा समेत सम्बन्धित निकायबाट अनुगमन नभएको उनले बताए ।
स्थानीय, प्रदेश र केन्द्र सरकारसंग किसानको राहतको लागि आग्रह गरेका छन् ।

किसानले मेहनत पसिना बगाएर फलाएको धानलाई वर्षातले ठुलो क्षति पु¥याएको गुलरिया नगरपालिका–११ लालपुरका पप्पु यादवले बताए ।
काटेको धान खेतमा कुहिन लागेको र काट्न तयार भएको धान वर्षातका कारण काट्न नसकिएको उनले सुनाए ।

यस वर्ष निकै छिटो पानी परेका कारण किसानहरु निकै छिटो रोपाई गरेका थिए । समयमै रोपाई गरिएका कारण उत्पादन बढेको थियो । तर, बर्षातले भने पाकेकको धानमा निकै ठूलो क्षति पुर्याएको छ ।

बर्दिया जिल्लामा ५० हजार २ सय ५० हेक्टर जग्गामा धान रोपाई भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका सुचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर