बाढीपहिरो प्रभावितलाई तुरुन्त राहत दिन प्रचण्डको आग्रह
बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक ३ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन उनले माग गरेका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले विपतमा ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

बाढीपहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश- १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्‍न भागहरूमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ।

त्यसैगरी यस प्राकृतिक विपतमा परी झण्डै तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर