बाढी पीडितलाई राहत वितरण
शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट पीडित भएका मोरङको सुनवर्षी नगरपालिका स्थानीयलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा नेपाल र सशस्त्र प्रहरीका प्रमुखसहित टोलीले सुनवर्षी–३, ४, ६ र ७ नम्बर वडाका पीडितलाई शुक्रबार राहत वितरण गरेका हुन्।

बेमौसमी वर्षाले आएको बाढीले क्षति पुर्याउनुका साथै घरहरु डुबानमा परेका कारण सुनवर्षीमा मात्रै ४ सय ४८ परिवार विस्थापित बनेको प्रशासन कार्यालयले जनाएको छ।

विस्थापित बनेकामध्ये अधिकांश नजिकको विद्यालयमा आश्रय लिएर बसेको प्रजिअ दाहालले बताए। उनका अनुसार कतिपय परिवारका सदस्यसहित त्रिपालमुनि बसिरहेका छन्।

विभिन्न व्यापारिक संघसंस्थासँगको समन्वयमा खाद्यान्न एवं उपभोग्य वस्तु संकलन गरेर पीडितलाई वितरण गरिएको दाहालले बताए। उनका अनुसार प्रभावितको अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्ने गरी राहत सामग्री नगर प्रमुख र वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ।

पहिलो चरणमा बाढी पीडितका लागि १ सय ४० थान त्रिपाल, १ सय २ थान कम्बल, २ सय ५० थान म्याट्रेस, साढे ८ क्वीन्टल चामल, २ सय किलो नुन, ३ क्वीन्टल चिउरा, २० कार्टुन पानीलगायतका राहत सामग्री वितरण गरिएको जानकारी प्रजिअ दाहालले दिए।

बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। विभिन्न रोगको संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत जीवनजललगायत प्राथमिक उपचारका लागि औषधिहरु पठाइसकिएको उनले बताए। ‘बाढी पीडितलाई आवश्यक सबै खालको सहयोग गर्न निर्देशन दिइएको छ,’ प्रजिअ दाहालले भने, ‘थप सहयोग आवश्यक परेमा जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनिएको छ।’

राहत वितरणमा एकद्धार प्रणाली अपनाइएको उनले बताए। प्रभावित क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण संकलनलाई तीव्र पारिएको छ। धान, तरकारीसहितका बालीनालीमा पुगेको क्षतिको विवरण संकलन कृषि कार्यालयमार्फत् थालिएको छ।

ठाउँठाउँमा तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि घरहरु डुबानमा पर्दा स्थानीय विस्थापित बनेको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए। ‘घर–घरमा लेदोसहितको बाढी पसेपछि स्थानीय विस्थापित बनेका हुन्,’ प्रमुख दासले भने, ‘घरभित्रको लेदो र हिलो नहटाएसम्म विस्थापित भएकाहरु फर्कन सक्ने अवस्था छैन।’

वर्षा रोकिएर जमेको पानी सुक्दै गएसँगै सरसफाई गर्न थालिएकाले बाढी पीडितहरु केही दिनभित्रमै आफ्नो बासस्थानमा फर्किने अवस्था बन्ने दासको भनाइ छ। विगतमा क्षति पुगेको तटबन्ध समयमै मर्मत सम्भार नगरिँदा बक्राहाको बाढी गाउँ पसेर वितण्डा मच्चाएको हो। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय