सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो
सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक ८ / सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई जिम्मेवारीबाट हटाइएको हो।

उनीहरूलाई एकै समयमा सरूवा गरिएको हो।

महतोलाई गृहमा तानिएको छ भने उनको सट्टामा गृहबाट बाबुराम खतिवडालाई पठाइएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र पोखरेलले जानकारी दिए।

त्यस्तै, श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई पठाइएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको सट्टामा प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाई‌लाई पठाएको हो।

केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएको थियो। त्यही कारण सरूवा भएको हुनुपर्ने स्रोत बताउँछ।

यद्यपि प्रवक्ता पोखरेलले आफूलाई सरूवा के कारणले गरिएको भन्नेबारे जानकारी नभएको बताए। तास खेलेको भिडिओबारे पनि आफूलाई थाहा नभएको बताए। ‘सरूवा भएको थाहा छ। के कुरा हो थाहा छैन,’ उनले भने। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय