अदालतभित्र भइरहेको दाउपेचमा हामी पस्दैनौं : ओली
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

विराटनगर, कात्तिक ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् । प्रेस चौतरी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको परिस्थितिमा एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने संकेत गरेका हुन् । ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

उनले ‘परमादेश’भन्दा अघि कै सेटिङकै परिणाम अहिले देखिएको प्रस्ट पारे । उनले भने, ‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन । अदालत लोकतन्त्रको एउटा स्तम्भ हो ।’ अर्को एक प्रसंगमा ओलीले सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयमा अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने बताए । उपाध्यक्ष रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा एमालेको वडा अधिवेशन नभएको बताएका थिए ।

सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘एकदुई जनाले के भन्छन्, त्यसको कुनै मतलब भएन, उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म सोध्छु ।’‘अर्ली इलेक्सन’का सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा ओलीले चुनाव चाहने कि नचाहने भन्ने प्रश्नभन्दा पनि आवश्यकता हो कि होइन भन्ने मुख्य कुरा रहने बताए । उनले सरकारको कार्यशैली भद्रगोल रहेको, संसदले कुनै काम गर्न नसकेको भन्दै अहिलेको संसदबाट निकास ननिस्कने धारणासमेत राखे ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर