प्रहरीले घेरा हालेर समातेको थियो धामी बस्दा श्रीमती र छोरीको हत्या गरेका तामाङलाई
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

झापा, कात्तिक ९ / इलाममा झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको टोकेर हत्या गरेको खुलेको छ।

सोमबार राति देउमाई नगरपालिका -५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल)ले आफ्नी ३५ वर्षीया श्रीमती सीता र १६ वर्षीया छोरी दीक्षा तामाङलाई जोखाना हेर्ने क्रममा हत्या गरेको प्रहरीले जनाएको छ।

जोखाना हेर्ने क्रममा तामाङले श्रीमती र छोरीलाई टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार तामाङ सात-आठ दिनदेखि पूजा कोठामा धामी बस्दै आएका थिए।

त्यसक्रममा सोमबार राति आमाछोरीको उपचार गर्ने भन्दै धामी बसे। सुरूमा उनले आमालाई पूजा कोठामा एक्लै लगेका थिए। सीताको पेटमा टोकेको देखिएको श्रेष्ठले बताए। ‘घाँटी थिचेको हो कि भन्ने पनि अनुमान छ, अनुसन्धान भइरहेको छ,’ उनले भने।

श्रेष्ठका अनुसार सीता बेहोस भएपछि १६ वर्षीया छोरीलाई पूजा कोठामा छिराएका थिए। छोरीलाई पनि सोही प्रकारले टोकेर बेहोस पारेको श्रेष्ठले बताए।

‘रातिभर धामी बसेर उज्यालो हुँदा श्रीमती र छोरीको मृत्यु भएको थाहा पाएपछि उनी भागेका थिए,’ श्रेष्ठले भने, ‘प्रहरीले चारैतिरबाट घेरा हालेर तामाङलाई पक्राउ गरिसकेको छ।’

तामाङका अन्य दुई छोरी र बुवाआमा पनि जोखाना हेर्न पूजा कोठामा छिर्ने तर्खरमा थिए। ‘उनीहरूलाई पनि पालैपालो पूजा कोठामा लगेर जोखाना हेर्ने योजना रहेछ,’ श्रेष्ठले भने।

आमाछोरीको मृत्यु भएपछि घर तथा छिमेकमा हो-हल्ला भएको थियो। त्यसपछि तामाङ धामी बस्दाबस्दै भागेका थिए।

घटनास्थलबाट शवको मुचुल्का उठाउन प्रहरी पुगेको छ। इलाका प्रहरी कार्यालय मंगलबारे र गजुरमुखीको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली पठाइएको श्रेष्ठले बताए।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय