श्रीमानसँग झगडा भएपछि राप्ती नदीमा हेलिइन् दीपा
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

बाँके, कात्तिक ९ / एक महिलाले श्रीमानसँग विवाद भएपछि मध्यरात राप्ती नदीमा हेलिएकी छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका -३ की २० वर्षीया दीपा थारुले २३ वर्षीय श्रीमान जोगिराम थारुसँग विवाद भएपछि मंगलबार रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले श्रीमान जोगिरामसँग सामान्य विवाद भएपछि दीपा मध्यरातमै घरबाट निस्किएर करिब तीन किलोमिटर उत्तरको राप्ती नदीमा पुगेर हाम फालेर आत्महत्या गरेको भनेर निवेदन दिएको बताए।

‘दीपाले बिहान करिब २ बजेतिर राप्ती नदीको सिधनियाँ घाट पुलबाट हाम फालेर आत्महत्या गरेको भन्ने कुरा आएको छ,’ डिएसपी न्यौपानेले भने, ‘दीपाको शव मंगलबार बिहान सवा १० बजेतिर घटनास्थलनजिकै फेला परेको हो।’

दीपाको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘श्रीमान जोगिरामले सामान्य विवादपछि श्रीमती मध्यरातमा एक्लै राप्ती नदीको पुलमा पुगेको र फोन गरेर आफू त्यहाँ पुग्दा झनै उत्तेजित भएर हाम फालेको भन्ने कुरा गर्नु भएको छ,’ एसपी अधिकारीले भने,‘जोगिरामले केही आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं।’सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय